२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

नाइमा मोबिलिटी एक्स्पोमा बैंकहरूको अटो लोन वारः कुन बैंकमा कस्ता छन् अफर ?

२७ साउन, काठमाडौं । हिजो देखि सुरू भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ लाई लक्षित गर्दै बैंकहरुले अटो कर्जामा विभिन्न अफर सार्वजनिक गरेका छन् । यो कार्यक्रमलाई लक्षित गर्दै विभिन्न बैंकहरुले सवारी कर्जामा आकर्षक योजना सार्वजनिक गरेका छन् ।

विशेषगरी विद्युतीय सवारी (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै बैंकहरूले कम ब्याजदर, न्यून प्रिमियम, शुल्क छुट र छिटो कर्जा प्रक्रियाका योजना अघि सारेका छन् ।

ग्लोबल आईएमई बैंकले न्यूनतम् ५.२५% ब्याजदरमा ऋण दिने

ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्यूनतम् शून्य दशमलव पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् ।

जसअनुसार, हालको आधार दरमा न्यूनतम् ब्याजदर ५.२५ प्रतिशत ब्याजदर कायम हुन्छ । बैंकको आधार दर घटबढ भए अनुसार यो कर्जाको ब्याजदर पनि स्वत: समायोजन हुनेछ । साथै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी किन्ने ग्राहकहरूको लागि ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । ३ वर्ष पश्चात् उक्त कर्जाको दर बैंकको आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुनेछ ।

साथै, ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्सपोमा आफ्नो स्टल राखी गाडी किन्न इच्छुक ग्राहकहरूलाई कर्जा प्रकृया अगाडि बढाउने व्यवस्था गरेको छ । बैंकको उक्त स्टलबाटै पनि ग्राहकले कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैंकले गरेको छ । ग्राहकहरूले कागजपत्र पुरा गरे पश्चात् बैंकले गाडी किन्नको लागि अधिकतम तीन दिन मै स्वीकृतिपत्र समेत प्रदान गर्नेछ ।

कृषि विकास बैंकमा ३३.३३ प्रतिशत छुट

कृषि विकास बैंकले ब्याज प्रिमियम र सेवा शुल्कमा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ । छिटो र सरल प्रक्रियामा सात बर्षका लागि ऋण दिने बैंकको योजना छ ।

एनएमबि बैंक

नाइमा एक्स्पोको अवसरमा एनएमबि बैंकले पनि आकर्षक योजना ल्याएको छ । बैंकले नयाँ इभी खरिदका लागि दिइने कर्जामा आधार दरमा ०.५ प्रतिशत मात्रै प्रिमियम दर थपेर ब्याजदर निर्धारण गर्ने स्कीम ल्याएको छ । कर्जा प्रक्रियालाई सरल र छिटो बनाइएको तथा ग्राहकको सुविधालाई प्राथमिकता दिइएको बैंकले जनाएको छ।

त्यस्तै, बैंकले ‘सेकेन्ड ह्यान्ड’ गाडी खरिदका लागि मूल्यांकन गरिएको रकमको अधिकतम ५५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । तर यस्तो कर्जाको अधिकतम सीमा भने ३५ लाख रुपैयाँ कायम गरिएको बैंकले जनाएको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले पनि नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकका लागि विशेष अटो लोन योजना ल्याएको छ । बैंकले ५.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने तथा ०.५ प्रतिशत प्रोसेसिङ शुल्क लिने जनाएको छ ।

अफरअन्तर्गत कर्जाको ब्याजदरमा वार्षिक १ प्रतिशत प्रिमियम कायम गरिनेछ । पछिल्लो समय बैंकहरूको आधार दर घट्दै गएसँगै अटो लोनको ब्याजदरसमेत घट्दो क्रममा रहेको  छ । केन्द्रीय बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थपेर अटो लोनको ब्याजदर निर्धारण गर्न सक्नेछ ।

नेपाल बैंक

नेपाल बैंकले न्यूनतम् पाँच प्रतिशतमा अटो लोन दिने योजना ल्याएको छ । बैंकले ६० प्रतिशतसम्म फाइनान्सीङ गर्ने गरि यो योजना ल्याएको छ । पाँच देखि सात बर्षसम्मका लागि कर्जा सुविधा दिने बैंकको भनाइ छ ।

नेपाल इन्भेष्टमेन्ट मेगामा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आधार दरमा ०.५ प्रतिशत मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण गर्ने छ । यो न्यूनतम् दर हो ।

प्रभु बैंक

प्रभु बैंकले आधार दरमा ०.५० प्रतिशत मात्रै प्रिमियम थप गरेर अटो लोन दिने योजना ल्याएको छ । यस बैंकले बिगतदेखि नै यो योजना सञ्चालन गर्दै आएको छ ।

मुक्तिनाथ बैंक

मुक्तिनाथ विकास बैंकले पनि नाईमा एक्स्पोलाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले आधार दरमा शून्य प्रतिशत प्रिमियम थपेर अटो कर्जा उपलब्ध गराउने जनाएको छ ।

योजनाअन्तर्गत हाल अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ । यो विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ भने त्यसपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने जनाएको छ ।

बैंकले आवश्यक कागजात तथा कर्जा आवेदन प्रक्रिया पूरा भएका ग्राहकलाई २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने जनाएको छ । यसबाट ग्राहकलाई आफूले रोजेको सवारीसाधन खरिद गर्न छिटो र सहज कर्जा सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले पनि आकर्षक ब्याजदरमा ऋण दिने भन्दै सूचना प्रकाशन गरेको छ । यी त प्रतिनिधि उदाहरण हुन् । नेपालमा सञ्चालित सबै बैंकले अटो लोन प्रोडक्ट सञ्चालन गर्दै आएका छन् । त्यसमा कतिपय नाइमा एक्स्पोका लागि नै भनेर योजना ल्याएका छन् । समग्रमा ग्राहकले सबै बैंकबाट अटो कर्जाको सुविधा पाउन सक्नेछन् ।

प्रकाशित मिति : August 12, 2026 at 5:26 pm