विदेशी पुनर्बीमा ब्रोकरमाथि प्राधिकरणको कडाइ, एक वर्षभित्र कार्यालय खोल्नुपर्ने
२७ साउन, काठमाडाैं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा ब्रोकरका लागि नेपालमा कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ। प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा चौथो संशोधन गर्दै विदेशी पुनर्बीमा दलाललाई सूचीकरण नम्बर प्राप्त गरेको एक वर्षभित्र नेपालमा कार्यालय स्थापना गरिसक्नुपर्ने व्यवस्था गरेको हो।
विदेशी पुनर्बीमक र पुनर्बीमा दलालहरूले नेपाल बीमा प्राधिकरणमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने व्यवस्था छ । सूचीकरणका लागि आफ्नो देशको नियामकबाट प्राप्त इजाजतपत्र, अद्यावधिक वित्तीय विवरण र रेटिङ्ग प्रमाणपत्र जस्ता कागजातहरू पेस गर्नुपर्छ ।
विदेशी पुनर्बीमकले प्रत्येक वर्ष आफ्नो सूचीकरण नम्बर प्राधिकरणबाट नवीकरण गराउनुपर्छ । त्यस्तै, विदेशी पुनर्बीमकसँग कारोबार गर्दा तोकिएको न्यूनतम रेटिङ्ग अनिवार्य गरिएको छ ।
नेपालमा प्रधान कार्यालय नभएका विदेशी बीमक (विदेशी बीमा कम्पनीका शाखा कार्यालय) को हकमा नेपालस्थित कार्यालयले नै पुनर्बीमा नीति तयार गरी व्यवस्थापन समूहबाट पारित गराई लागू गर्नुपर्नेछ ।
प्रकाशित मिति : August 12, 2026 at 4:08 pm



