लुम्बिनीमा आचार्य नेतृत्वकै सरकारलाई निरन्तरता दिन ओली र प्रचण्डले गरे मोहन विक्रमसँग सहमति
२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा हाल कायम रहेको सरकारलाई नै निरन्तरता दिने गरी नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति भएको छ।
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच भएको छलफलपछि दुई बुँदे सहमति भएको हो।
सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशको विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ। त्यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्धको आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ।
यसअघि एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। सोहीअनुसार चेतनारायण आचार्य नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने तयारी एमालेले गरेको छ।

लुम्बिनी प्रदेशसभामा सरकारलाई बहुमत पुर्याउन भने थप एक सांसदको समर्थन आवश्यक देखिएपछि एमाले र नेपाली कम्युनिस्ट पार्टीले नेकपा (मसाल) सँग सहमति गरेका हुन्। मसालको प्रदेशसभामा एक सांसद छन्।
८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ। एमालेसँग २९ र नेपाली कम्युनिस्ट पार्टीसँग सभामुखसहित १३ सांसद छन्। सभामुखले बराबरी भएको अवस्थामा बाहेक मतदान गर्न नपाउने संवैधानिक व्यवस्थाका कारण सरकारलाई बहुमत कायम गर्न थप एक सांसदको समर्थन आवश्यक परेको हो।
सहमति भएसँगै मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई विश्वासको मत लिन सहज हुने भएको छ। मुख्यमन्त्री आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
यस सहमतिले लुम्बिनीमा तत्काल सरकार परिवर्तनको सम्भावना टरेको छ भने एमाले नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने बाटो खुलेको छ।
प्रकाशित मिति : August 12, 2026 at 3:47 pm



