२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

मुक्तिनाथ विकास बैंकको नाफा १२ प्रतिशतले बढ्यो, कर्जा प्रवाह १ खर्बभन्दामाथि

२७ साउन, काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ।  अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। समीक्षा अवधिमा कम्पनीको कर्जा ३.३८ प्रतिशत बढेको हो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १.५० प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.८९ प्रतिशत र सञ्चालन मुनाफा २०.२३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रुपैयाँ रहको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा रहेको छ । ८ अर्ब ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा सीमित भएको छ । त्यसैगरी, असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.१३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८२ पैसा रहेको छ ।

प्रकाशित मिति : August 12, 2026 at 12:14 pm