२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

एनआरएनए डेभलपमेन्ट फन्डले पायो आईपीओ निष्कासनको अनुमति

२७ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न स्वीकृति दिएको छ।

धितोपत्र निष्कासनसम्बन्धी नियमावली परिमार्जन गर्दै बोर्डले मंगलबार फन्डलाई विदेशी मुद्रामै आईपीओ जारी गर्न अनुमति दिएको हो। स्वीकृतिअनुसार फन्डले आफ्नो ८५ प्रतिशत सेयर विदेशी मुद्रामा लगानी गर्ने लगानीकर्तालाई निष्कासन गर्न पाउनेछ।

विदेशी मुद्रामा गरिएको लगानी रिटर्नसमेत सोही मुद्रामा फिर्ता लैजान सकिने व्यवस्थासहित आईपीओ निष्कासनको अनुमति दिइएको हो। याेसँगै एनआरएनमार्फत नेपालमा पूर्वाधार निर्माण तथा अन्य क्षेत्रमा ठूलो परिमाणमा विदेशी लगानी भित्र्याउने बाटो थप सहज हुने अपेक्षा गरिएको छ।

एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७७ चैतमा दर्ता भएको थियो। कम्पनी स्थापना भएको करिब छ वर्षपछि उसले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै नेपालमा थप लगानी भित्र्याउने अवसर पाएको हो।

प्रकाशित मिति : August 12, 2026 at 11:59 am