कान्समा इतिहास रचेको ‘इलिफेन्ट्स इन द फग’ भदौ १९ मा रिलिज हुँदै, हलमै गएर हेर्न निर्माता पौडेलको आग्रह
२७ साउन, काठमाडौँ । फ्रान्सको प्रतिष्ठित कांस फिल्म फेस्टिभल २०२६ मा ऐतिहासिक ‘ज्युरी च्वाइस अवार्ड’ जित्न सफल बहुचर्चित नेपाली चलचित्र ‘इलिफेन्ट्स इन द फग’ (तिनीहरू) आगामी भदाै १९ गतेदेखि नेपालभरका सिनेमा घरहरूमा प्रदर्शन हुने भएको छ।
‘अन सर्टेन रिगार्ड’ विधामा विश्वभरका चर्चित सिनेमाहरूलाई पछि पार्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च बनाएको यो फिल्मलाई लिएर यतिबेला सिनेमा वृत्तमा ठूलो उत्सुकता छ।
फिल्मका निर्माता अनुप पौडेलका अनुसार कांसमा विदेशी समीक्षक र दर्शकहरूबाट पाएको अभूतपूर्व प्रशंसापछि अब फिल्मलाई आफ्नै देशका दर्शकमाझ लैजान लागिएको हो। कान्सको सफलताभन्दा पनि नेपाली दर्शकको प्रतिक्रिया आफ्ना लागि सबैभन्दा महत्त्वपूर्ण हुने उनी बताउँछन्।
“हामीले अन्तर्राष्ट्रिय मञ्चमा जतिनै ठूलो सम्मान पाए पनि यो मूलतः हाम्रै माटो, समाज र भावनाको कथा हो,” निर्माता पौडेलले भने, “कांसमा पाएको मायाबाट हामी उत्साहित छौँ। तर, यो फिल्म प्रत्येक नेपालीले हलसम्म पुगेर हेरिदिऊन् र हाम्रै कथालाई महसुस गरिदिऊन् भन्ने मेरो तीव्र चाहना छ।”
अविनाश विक्रम शाहको लेखन तथा निर्देशन रहेको यो फिल्म तराईको जंगली हात्तीको जोखिमपूर्ण पृष्ठभूमिमा आधारित छ। फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी मुख्य पात्र ‘पिरती’ले आफ्नो व्यक्तिगत प्रेम र समुदायप्रतिको जिम्मेवारीबीच गर्नुपरेको सङ्घर्षको कथालाई संवेदनशील ढङ्गले प्रस्तुत गरिएको छ।

सार्वजनिक गरिएकाे ट्रेलरमा सन्तान हराएकी आमाको छटपटी, हतासपन र छोरी अप्सराको खोजीका लागि उनले प्रहरीदेखि आफन्तसम्म गरेको सङ्घर्षलाई देखाइएको छ। पूरै गाउँ जङ्गली हात्तीको त्रासमा बाँचिरहेको छ। तर रोचक पक्ष के छ भने ट्रेलरमा कतै पनि हात्ती देखाइएको छैन। भोजपुरी लयमा कम्पोज गरिएको ‘क्याची’ गीतमा तेस्रोलिङ्गी समुदायका व्यक्तिहरू नाचिरहेको दृश्य र बलि चढाउन लागिएको जस्तो सस्पेन्स दृश्यले ट्रेलरलाई निकै रहस्यमय र आकर्षक बनाएको छ। लव कर्णको शब्द रहेको उक्त गीतमा शिवानी भगत र देव अहिररावको स्वर सुन्न सकिन्छ।
नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको संयुक्त सह-उत्पादनमा बनेको यस फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, ज्यास्मिन विश्वकर्मा, अलीज घिमिरे, सञ्जय गुप्ता लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा उत्कृष्ट ठहरिएको यस फिल्मले नेपाली सिनेमाको निर्माण शैली र गुणस्तरलाई नयाँ उचाइमा पुर्याएको मानिएको छ।
प्रकाशित मिति : August 12, 2026 at 2:03 pm



