नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकममा पनि वृद्धि
२६ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार नेप्सेमा झिनो अंकको सुधार आएको छ। पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने झिनो अंकले बढेर बन्द भएको हो।
मंगलबार नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेको छ। मंगलबार १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको घटेको छ । २० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३४० कम्पनीको ५२ हजार ७३ पटकको कारोबारमा ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँबराबरको ९५ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। महिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १४.९१ प्रतिशत घटेको छ। यस दिन सोलु हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ। सो कम्पनीको यस दिन ४४ करोड ८७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : August 11, 2026 at 3:23 pm



