हर्कराज राईले भनेः भ्रष्टाचारी र अपराधीलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाऔँ
२६ साउन, काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा व्याप्त बेथिति, भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि अपराधीहरूलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद राईले विद्यमान कानुनी प्रक्रिया झन्झटिलो र सेटिङमा चल्ने गरेको भन्दै कडा सजायको व्यवस्था गर्न माग गरेका हुन् ।
सांसद राईले अपराधीहरूलाई समात्ने, छानबिन गर्ने र फेरि सेटिङमा छाड्ने प्रवृत्तिले देश बर्बाद भएको बताए। साम्पाङले भने, ‘मेरो तेरो नभनी फटाहाहरुलाई कर्याप झ्याप पारेर हानौँ न कोर्रै कोर्राले। त्यस्तो कानुन बनाऊँ। यहि हो कानुन बनाउने ठाउँ। यसो लैजाने मायाले छानिबन गर्ने सोधपुछ गर्ने अनि सेटिङमा निस्केर हुन्छ। हुँदैन।’
साम्पाङले मुलुकमा भएको बेथिति नष्ट गर्नुपर्ने पनि बताए। ‘पुस्तौं पुस्तादेखि यहि देशमा बसेको मान्छेको स्वामित्व छैन। अहिले भूमि सुधार व्यवस्था मन्त्रीले ‘स्थानीय तहले गर्न दिएनन्’ भन्नुहुन्छ’, साम्पाङले भने, ‘धनीपुर्जा दिन कुन स्थानीय तहले रोक्छ। हामी छौँ। सुकुमबासीले धनी पुर्जा पाएन भन्नेमा नाटक गरेको छ। गीत गाएको छ। दिनुहोस्, भकाभक दिनुहोस्। कसले रोकछ। कांग्रेस, एमाले, नेकपा कसले रोक्छ? हामी रोक्दैनौँ ।’
राईले देशको सुरक्षा अवस्था र प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि प्रश्न उठाए । प्रधानमन्त्रीले छिमेकी मुलुकसँगको सीमा विवादका विषयमा दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको उनको आरोप थियो। ‘हामी कस्तो देशमा छौँ जहाँ प्रधानमन्त्री नै भन्छन् हामीले छिमेकीको सीमा मिचेका छौँ। यहाँ न सुरक्षा छ, न न्याय, न सेवा सुविधा,’ राईले भने।
प्रकाशित मिति : August 11, 2026 at 2:36 pm



