अटो क्षेत्रमा स्थिर नीति र आधुनिक पूर्वाधार आवश्यकः अध्यक्ष ऋतु सिंह
२६ साउन, काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। दोस्रो संस्करणको एक्स्पोमा ५५ ब्रान्डका सवारीसाधन सहभागी छन् भने ४० वटा नयाँ गाडी सार्वजनिक गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
६ दिनसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन गर्दै नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र भरपर्दो बनाउन स्थिर सरकारी नीति, आधुनिक पूर्वाधार र सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्।
उनले अटोमोबाइल क्षेत्रमा दशकौँदेखि निजी क्षेत्रले लगानी र रोजगारी सिर्जना गरिरहेको भन्दै नीतिगत स्थिरता नहुँदा व्यवसायीमा अन्योल सिर्जना हुने बताइन्।
‘लगानीमैत्री वातावरण बनाउन सरकारले स्थिर र दीर्घकालीन नीति अवलम्बन गर्नुपर्छ। नीतिमा हुने पटक–पटकको परिवर्तन र अस्पष्टताले व्यवसायीमा अन्योल सिर्जना गर्छ,’ वैद्यले भनिन्, ‘दशकौँदेखि लगानी र रोजगारी सिर्जना गर्दै आएका अटोमोबाइल कम्पनीलाई प्रोत्साहन गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक छ।’
सरकारले अघि सारेको स्वच्छ यातायात र दिगो विकासको लक्ष्यलाई नाइमाले समर्थन गर्ने उल्लेख गर्दै वैद्यले विद्युतीय सवारी, हाइब्रिड तथा अन्य आधुनिक प्रविधिलाई प्रोत्साहन गर्नुपर्ने बताइन्। नेपालमा उत्पादन हुने स्वच्छ ऊर्जाको उपयोग बढाउँदै पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउनुपर्नेमा समेत उनले जोड दिइन्।
उनले मोबिलिटीलाई सवारीसाधनको खरिद–बिक्रीमा मात्र सीमित नगरी शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पहुँच विस्तारसँग जोड्नुपर्ने धारणा राखिन्। सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम र भरपर्दो पूर्वाधारलाई मोबिलिटी क्षेत्रको प्राथमिक आधारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ।
प्रकाशित मिति : August 11, 2026 at 1:38 pm



