२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

हरि ढकाललाई एमाले सांसद घतानीको प्रश्नः सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ?

२५ साउन, काठमाडौं। नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा दिने सम्बोधन सरकारी सञ्चार माध्यमभन्दा बढी निजी फेसबुक पेज र मनिटाइजेसनमा केन्द्रित भएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सचेतक निता घतानीले प्रविधिको प्रयोग राम्रो भए पनि राज्यका आधिकारिक निकायलाई बाइपास गरेर फेसबुकको भ्युज बढाउने खेलमा प्रधानमन्त्री लाग्नु दुःखद भएको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीको सम्बोधन फेसबुक एकाउन्टबाट आउँछ। प्रधानमन्त्रीज्यू, राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि आफ्नो फेसबुक पेजको भ्युज र मनिटाइजेसन बढाउनुभएको हो? डिजिटल सरकार ठीक छ, प्रविधिको प्रयोग गरौँ, तर राज्यको आधिकारिक संस्था बाइपास गरेर फेसबुकको भ्युजबाट देश चलाउने होइन।’

देशका विभिन्न वर्ग र समुदायले भोगिरहेको समस्याबारे सरकार बेखबर रहेको उनले बताइन् । उनले बजारमा रहेको ग्यासको अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सहकारी पीडितको बचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

उनले किसानलाई रासायनिक मल र बजार उपलब्ध गराउन तथा युवालाई रोजगारी र व्यापारीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकारसँग माग गरिन् । उनले  सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारुढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।

सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारुढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । सांसद घतानीले सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ? भन्दै प्रश्न गरिन् ।

उनले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्नसमेत चेतावनी दिएकी छन्। संसदमा बोल्दै उनले भनिन्, ‘सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र? अब यसको नाम मेटाएर यसको इतिहास नै मेटाउने चलखेल हुँदैछ, बन्द गरियोस्।’

प्रकाशित मिति : August 10, 2026 at 2:27 pm