प्रधानमन्त्रीलाई कांग्रेसले भन्योः कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न
२५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको हित र सीमा रक्षा जस्ता सकारात्मक कदममा प्रतिपक्ष सधैँ सरकारको साथमा रहने बताएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यक्त गरेको एक्लो महसुस भएको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो धारणा राखेकी हुन् ।
सांसद काउचाले प्रधानमन्त्रीलाई कालो चस्मा खोलेर हेर्न आग्रह गर्दै भनिन्, ‘तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने सही कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया र संसदीय मर्यादा उल्लङ्घन हुँदा प्रतिपक्ष मौन बस्न सक्दैन ।’
प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नहरूलाई घेराबन्दीको रूपमा बुझ्न नहुने उनको तर्क थियो । ‘प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन। प्रतिपक्षले दैनिक संसद्मा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीलाई सत्तापक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो?’
प्रकाशित मिति : August 10, 2026 at 1:57 pm



