२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

राष्ट्र बैंकको डिजिटल मुद्रा अवधारणा सार्वजनिक ,५ वर्षमा करिब ४ अर्ब ७३ करोड मुद्रण लागत बचत

२४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल मुद्रा अवधारणा पत्र सार्वजनिक गरेको छ । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा उक्त अवधारणा सार्वजनिक गरेको हो ।

यस अवधारणा पत्रले मुलुकको मौद्रिक व्यवस्थापनमा आधुनिकता ल्याउनुका साथै आर्थिक क्षेत्रमा ठूलो परिवर्तनको संकेत गरेको छ।  नेपाल राष्ट्र बैंकले कागजी नोट छपाईसँगै त्यसको ढुवानी, भण्डारण, सुरक्षा तथा व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आएको छ।

केन्द्रीय बैंकको पछिल्लो अध्ययनअनुसार यदि डिजिटल रूपैयाँको प्रयोगलाई प्रभावकारी रूपमा अघि बढाउन सकिएमा आगामी ५ वर्षभित्रमा नोट छपाईको आवश्यकता ५० प्रतिशतले कम हुन सक्छ। यो परिवर्तनले भविष्यमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ राज्यको ढुकुटीमा बचत हुने प्रक्षेपण गरिएको छ।

डिजिटल रूपैयाँको यो अवधारणाले केवल पैसाको भौतिक स्वरूपलाई मात्र बदल्ने नभई, भुक्तानी प्रणालीमा सुरक्षा र पारदर्शिता बढाउने लक्ष्य राखेको छ।

राष्ट्र बैंकले प्रस्ताव गरेको डिजिटल रूपैयाँ सर्वसाधारणले प्रयोग गर्न सक्ने ‘रिटेल’ प्रकृतिको हुनेछ। यसको उद्देश्य विद्युतीय भुक्तानीलाई थप व्यवस्थित, सुरक्षित र सहज बनाउनुका साथै नगदमा निर्भरता क्रमशः घटाउनु हो। डिजिटल माध्यमबाट हुने कारोबारलाई थप पारदर्शी बनाउने र आधुनिक भुक्तानी पूर्वाधार विकासमा समेत यसले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : August 9, 2026 at 5:43 pm