२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

आशिका तामाङको प्रश्नः एक दुई दिन ग्यास ढिला हुँदा सबै मिलेर खनिनु आवश्यक छ ?

२४ साउन, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले हाल बजारमा देखिएको खाना पकाउने ग्यासको समस्यालाई लिएर सरकारको बचाउ गरेकी छन् ।

डिपोहरूमा ग्यास वितरणमा देखिएको ढिलाइलाई लिएर चौतर्फी विरोध भइरहेका बेला उनले यो क्षणिक समस्या मात्र भएको उल्लेख गरेकी हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद तामाङले विगतका सरकारका पालामा आफूले भोगेको सास्ती स्मरण गराएकी छन् ।

‘ग्याँसको हाहाकार पहिलेदेखि थियो, एक वर्षसम्म ग्यास नपाएर स्टभमा भात पकाएर खाएको मलाई थाहा छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज एक दुई दिन डिपोमा ग्यास भर्न ढिला हुँदा सबै उर्लेर आएको देख्दा अचम्म लाग्छ ।’

 नेपाल ग्यासमा आत्मनिर्भर नरहेको र वैदेशिक आयातमा भर पर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै उनले वर्षायामका कारण आपूर्तिमा केही दिन ढिलाइ हुनु स्वाभाविक भएको बताएकी छिन् ।

आयातित खनिज पदार्थमा आधारित इन्धन बर्खायामका कारण एक–दुई दिन ढिलो पुग्दा सबै मिलेर सरकारमाथि खनिनु आवश्यक नरहेको उनको भनाइ छ । ‘ग्यास हाम्रो देशमा छैन, अरू अरू देशमा भएको खनिज पदार्थ ल्याउन बर्खायाममा एक–दुई दिन तलमाथि हुँदा सबै मिलेर खनिनु आवश्यक छ ?’ उनले प्रश्न गरेकी छन् ।

प्रकाशित मिति : August 9, 2026 at 3:30 pm