रात छिप्पिदै जाँदा राजु पाण्डेले गरे नांगै जल्ने कुरा
२३ साउन, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन निकटका मानिने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद राजु पाण्डेले रात छिप्पदै जाँदा शनिबार फेसबुक मार्फत नांगै जल्ने कुरा गरेका छन । फेसबुकमा एक बाक्यको स्टेटस राख्दै उनले भनेका छन ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु।’
प्रधानमन्त्री शाहले गएराति सरकार सञ्चालनमा कसैको सहयोग नपाएको कुरा गरेका थिए । उनले स्टेटस मार्फत आफूले एक्लै लडिरहनुपरेको र यो पहिलो पटकमात्र नभएको बताएका छन । उनले भनेका छन, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

प्रधानमन्त्रीको स्टेटसको २४ घण्टा नबित्दै बालेनको सेनाको रूपमा समाजमा परिचत गराएका पाण्डले नाङ्गै जल्ने कुरा गरेर फेसबुकमा स्टाटस लेखेका हुन । रास्वपाभित्र अन्तरद्धन्द्ध चर्किदै गएको देखिन्छ । प्रधानमन्त्रीबाहेक सरकारमा सहभागी भएका मन्त्रीहरू पनि जनताको काम गर्ने भन्दा बढी कमाउने अभियानमा लागेको भन्दै आरोप लाग्न सुरू भएको छ ।
यसअघि शनिबार नै दिउँसो रास्वापाका नेता समेत रहेका कञ्चनपुरबाट निर्वाचित सांसद दीपक बोहोराले चश्मा खोलेको तस्बिर नै राखेर सांकेतिक रूपमा सन्देश दिएका थिए । उनले भनेका छन, ‘मैले त कालो चस्मा खोलेँ है !’ बालेनको कोर टिमले कालो बस्त्र र कालो चश्मालाई समूहको संकेतको रूपमा प्रयोग गर्दै आएको समयमा बोहराको यस्तो टिप्पणी सार्वजनिक हुनुले सरकारका नाममा रास्वपाभित्र बढेको असन्तुष्टिलाई समेत सतहमा ल्याएको छ ।
यो टिप्पणी गर्ने बोहोरा रवि लामिछानेका मुख्य सहयोगी हुन । उनको सार्वजनिक पहिचान नै रविको मुख्य सहयोगीको रूपमा बनेको छ । उनी टेलिभिजनमा रविलाई लोकप्रिय बनाउनेदेखि पार्टी स्थापित बनाउने अभियानमा समेत सँगै रहेका पात्र हुन । दीपक आवश्यकता पर्दा रविका लागि त्याग गर्ने पात्रका रूपमा समेत रास्वपामा स्थापित भएका पात्र हुन ।
त्यसअघि शुक्रबार नै रास्वपाका सांसदहरूले संसदमै तीब्र रूपमा सरकारको काम कारबाहीप्रति रोष प्रकट गरेका थिए । रास्वापका प्रभावशाली नेता मानिएका मनिष झासहितका सांसदले संसद बैठकमै सरकारको चर्को स्वरमा आलोचना गरेका थिए ।
योसँगै रास्वपा भित्रको असन्तुष्टि अब सामान्य असहमतिको तहमा मात्र सीमित नरहेको संकेत पछिल्ला अभिव्यक्तिहरूले दिएका छन् । प्रधानमन्त्री बालेन स्वयंले सरकार सञ्चालनमा सहयोग नपाएको र ‘एक्लै लड्नुपरेको’ संकेत गर्नु तथा त्यसलगत्तै उनका निकट मानिने सांसद पाण्डेले ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’ भन्दै भावनात्मक स्टाटस लेख्नु संयोग मात्र होइन यसले रास्वपाभित्र बढ्दै गएको दूरीतर्फ भने संकेत गर्छ । नेतृत्वको केन्द्रमा रहेका पात्रहरूकै सार्वजनिक अभिव्यक्तिमा निराशा, आक्रोश र असहयोगको संकेत देखिन थाल्नु पार्टीभित्रको शक्ति-सन्तुलन सहज अवस्थामा नरहेको प्रमाणका रूपमा बुझ्न सकिन्छ।
अर्कोतर्फ, रवि लामिछानेका निकट सहयोगीका रूपमा चिनिएका सांसद दीपक बोहोराको ‘कालो चस्मा खोलेँ’ भन्ने सांकेतिक अभिव्यक्तिले रास्वपाभित्र देखिन थालेको असन्तुष्टिलाई अर्को कोणबाट उजागर गरेको छ । बालेनको समूहसँग जोडिने प्रतीकात्मक पहिचान र रवि लामिछानेको राजनीतिक वृत्तसँग जोडिएका पात्रहरूबाट सार्वजनिक रूपमा फरक–फरक संकेत आउनुले पार्टीभित्र नेतृत्व, कार्यशैली र राजनीतिक दिशालाई लिएर मतभेद बढिरहेको अनुमानलाई बल पुर्याउँछ ।
अझ संसद्मै रास्वपाका सांसदहरूले सरकारको कामकारबाहीप्रति तीव्र असन्तुष्टि जनाउन थालेपछि यो असन्तुष्टि व्यक्तिगत गुनासोभन्दा माथि उठेर संस्थागत राजनीतिक प्रश्न बन्न थालेको देखिन्छ । रास्वपाको सबैभन्दा ठूलो चुनौती अहिले विपक्षीसँगको राजनीतिक संघर्षभन्दा आफ्नै संरचना र नेतृत्वबीचको सम्बन्ध व्यवस्थापन बन्न थालेको देखिन्छ ।
प्रधानमन्त्री शाहमाथि सरकार चलाउने जिम्मेवारी छ भने पार्टीभित्र रवि लामिछानेको प्रभाव अझै बलियो छ; यी दुई शक्ति–केन्द्रबीचको सम्बन्ध, सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादन र पार्टी सांसदहरूको असन्तुष्टि एकैपटक सतहमा आउनुले रास्वपाको आन्तरिक समीकरण पुनर्गठनको चरणमा पुगेको संकेत गर्छ । अहिले देखिएका सांकेतिक स्टाटसहरूलाई छुट्टाछुट्टै घटना मानेर बेवास्ता गर्नुभन्दा तिनलाई जोडेर हेर्दा प्रश्न एउटै उठ्छ रास्वपा सरकार सञ्चालनको दबाबमा मात्र छ कि पार्टीभित्रै नयाँ शक्ति–समीकरण निर्माण हुँदैछ ?
प्रकाशित मिति : August 8, 2026 at 11:15 pm



