निर्मला पन्तबारे प्रश्न सोध्ने सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्नः हजुरहरू सत्तामा हुँदा के गर्नुभयो ?
२१ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सांसदहरूलाई सदनमा अब निर्मला पन्त प्रकरणका प्रश्न नसोध्न आग्रह गरेका छन् । आज राष्ट्रियसभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्त घटनाको दोषी पत्ता लगाएर न्याय दिन नसक्नुको कारण के हो र कहिलेसम्म सरकारले न्याय दिलाउँछ?’ भनेर प्रश्न सोधेका थिए ।
जबाफमा गृहमन्त्री गुरूङले यो विषय संवेदनशील रहेको बताए। प्रश्नकर्ता सांसदलाई गृहमन्त्री गुरुङले भने, ‘हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको ? अहिले हामीलाई आएर त्यो भारी बोकाउने ? संवेदनशील विषयलाई हामीले जहिले पनि एउटा आमाको घाउलाई कोट्याएको कोट्याई गर्ने ? सदनबाट उहाँलाई पीडा दिइराख्ने हो ?’
यसमा चरणबद्ध रुपमा सुक्ष्म तरिकाले अनुसन्धान गरेर रिजल्ट दिनुपर्ने भन्दै गृहमन्त्री गुरूङले प्रश्न गरे, ‘तपाई कोहि मान्छे बित्दै गर्दा खेरि त्यसबारे दिनका दिन सम्झाउँदा, राष्ट्रिय स्तरबाट सम्झाउँदा तपाईलाई मजा आउछ होला त ? तपाईलाई मनमा शान्ति हुन्छ होला त ? यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु ।’

गृहमन्त्री गुरूङले यो अनुसन्धानको विषय भएकाे भन्दै यसमा सुक्ष्म अनुसन्धान भइरहेको छ बताए । ‘यसमा म धेरै कुरा बोल्न सक्दिन । बोल्दा उचित हुदैन होला जस्तो लाग्छ । यो अनुसन्धानको विषय हो यो, यसमा हामीले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौ, ’ उनले भने ।
गृहमन्त्री गुरुङले सांसदहरूलाई यो विषयमा फेरि प्रश्न नउठाउन चेतावनी दिए । ‘म सम्पूर्ण माननीयज्युहरूलाई यसलाई (निर्मला पन्तको हत्यापछि बलात्कार भएको विषयलाई) अब प्रतिनिधि सभा र राष्ट्रिय सभामा यो प्रश्न नउठाइदिनु हुन म हजुरहरूलाई विनम्र अनुरोध आग्रह गर्न चाहन्छु,’ गुरुङले भनेका छन् ।
प्रकाशित मिति : August 6, 2026 at 2:57 pm



