गरिमा विकास बैंकको नाफसँगै बढ्यो प्रतिसेयर आम्दानी, लाभांश क्षमता कति ?
२१ साउन, काठमाडौं ।गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा बैंकको खुद नाफा १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ रहेको थियाे । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंककाे खुद नाफा ३५.३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ।
बैंकले गत असार मसान्तसम्म ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ६१ करोड २० लाख रुपैयाँको तुलनामा ५.६४ प्रतिशत बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशत बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.६४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष रु.३ अर्ब ६१ करोड २१ लाख रहेको खुद ब्याज आम्दानी बढेर रु.३ अर्ब ८१ करोड ५६ लाख पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि रु.४ अर्ब २५ करोड ८१ लाखबाट ७.२६ प्रतिशत बढेर रु.४ अर्ब ५६ करोड ७४ लाख पुगेको छ।

असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ कायम भएको छ। साधारण सेयरधनीहरूका आधारमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा कायम भएको छ।
बैंकको चुक्ता पूँजी अघिल्लो आर्थिक वर्षको ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँबाट बढेर ६ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ।सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
बैंकले ग्राहकहरूबाट ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कुल कर्जा ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंककाे प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २६ पैसा रहेको छ ।
प्रकाशित मिति : August 6, 2026 at 10:18 am



