नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग अर्थमन्त्रीको छलफल, के भयो कुराकानी ?
२० साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थतन्त्रका चुनौती, नीतिगत सुधार र आगामी रणनीतिबारे विस्तृत छलफल गरेका छन्। बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उनले निजी क्षेत्रले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरिरहेको बताए ।
अर्थमन्त्री वाग्लेले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफलबाट निजी क्षेत्रले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको निष्कर्ष आएको बताए।
विगत एक दशकको आर्थिक समीक्षा गर्दै अर्थमन्त्रीले नीतिगत निर्णयहरू भएपनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम आउन नसक्नुका कारण खोज्नुपर्ने बताए । अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेट सामान्य वार्षिक कार्यक्रम मात्र नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्र भएको दाबी गरे । उनले यस यात्रामा नेपाल राष्ट्र बैंकले आफ्नो भूमिकालाई पुनः परिभाषित गर्नुपर्ने बताए ।

छलफलका क्रममा अर्थमन्त्रीले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, रोजगारी र लगानीमा परिचालन गर्ने तथा पुँजी बजार र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध विकास गर्ने विषयमा सुझाव मागेका थिए । साथै, डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई सहज बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
उनले निजी क्षेत्र किन क्रमशः प्रतिरक्षात्मक बन्दै गएको, बैंकमा पर्याप्त तरलता हुँदाहुँदै पनि उद्योगमा कर्जा किन पुग्न नसकेको र उत्पादन तथा उत्पादकत्वले अपेक्षित गति किन लिन नसकेको विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए ।
अर्थमन्त्री वाग्लेले नियमनको उद्देश्य नियन्त्रणमा मात्र सीमित नभई उत्पादनशील आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु पनि भएको उल्लेख गर्दै विद्यमान नीतिले नवप्रवर्तनलाई सहयोग गरिरहेको छ वा अवरोध सिर्जना गरिरहेको छ भन्ने प्रश्नमा गम्भीर समीक्षा गर्नुपर्ने बताए।
प्रकाशित मिति : August 5, 2026 at 12:35 pm



