सभामुखलाई हर्क साम्पाङको प्रश्नः तपाईंलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो ?
१९ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं दलको नेता हर्कराज राईले सभामुख डोलप्रसाद अर्याललाई प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति रेकर्डबाट नहटाएको विषयमा प्रश्न गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउनुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने माग विपक्षी दलका सांसदहरूले गर्दै आएका छन्।
प्रधानमन्त्री शाहले उक्त अभिव्यक्तिको विषयमा अहिलेसम्म संसदमा आएर कुनै जबाफ दिएका छैनन्। त्यस्तै सभामुख अर्यालले पनि उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाएका छैनन्। उनले आफूहरूले जति माग गरे पनि यो विषयमा संसद्मा जवाफ दिन प्रधानमन्त्री तयार नभएको र सभामुख डोलप्रसाद अर्यालले पनि रुलिङ नगरेको भन्दै प्रश्न गरेका हुन् ।
‘थुप्रै दिनदेखि प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्छ भन्ने मागका साथ विरोध गरिरहेका छौँ। यो रेकर्डबाट पनि हटाइएको छैन,’ नेता राईले भने, ‘तपाईंलाई पनि नेपालले भारतको भूमि मिचेको छ भन्ने लागेको हो र मेटाउनुभएको छैन कि के हो? यहाँले पनि भनिदिनुहोला।’
प्रकाशित मिति : August 4, 2026 at 2:29 pm



