१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै कांग्रेसका सचेतक निश्कल राईले सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले भने, ‘सामाजिक सञ्जाल मार्फत घृणा र झुटा सूचना फैलाउनेमाथि कानुन अनुसार कारबाही गरियोस्। तर कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शङ्काको घेरामा नराखियोस्। म सरकारलाई सहयोगी, पारदर्शी र खुला बन्न पनि आग्रह गर्दछु।’

संवेदनशील निर्णयहरू बन्द कोठामा नभई खुला राष्ट्रिय संवादबाट अघि बढ्नुपर्ने बताए। उनले भने, ‘असहमति निषेध गरेर एकता कायम हुन सक्दैन। खुला, इमानदार र सम्मानजनक छलफलले मात्र विश्वास निर्माण गर्छ र विश्वासले मात्र दिगो समाधान दिन्छ।’

सरकारले गरेका सहमति, संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया र समयसीमाबारे संसद तथा नागरिकलाई स्पष्ट जानकारी दिन उनले माग गरे ।

प्रकाशित मिति : August 4, 2026 at 2:00 pm