१४ अर्बको ऋणपत्र निष्कासनकाे तयारीमा चार वाणिज्य बैंक
१८ साउन, काठमाडाैं । विभिन्न चार वाणिज्य बैंकहरूले कुल १४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन गर्ने तयारी अघि बढाएका छन्। एनएमबी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासनकाे अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्।
चारै बैंकको प्रस्तावित ऋणपत्रको अंकित मूल्य प्रतिइकाइ १ हजार रुपैयाँ तोकिएको छ। कुल १ करोड ४० लाख इकाइ ऋणपत्रमध्ये केही हिस्सा सर्वसाधारणका लागि र बाँकी संस्थागत लगानीकर्तामार्फत निजी प्लेसमेन्टमा बिक्री गर्ने योजना छ।
एनएमबी बैंकले ‘७ वर्षे ७ प्रतिशत एनएमबी पावर बन्ड–१’ नामक ५० लाख इकाइ ऋणपत्र जारी गरी ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। यसमध्ये २० लाख इकाइ सर्वसाधारणका लागि र ३० लाख इकाइ निजी प्लेसमेन्टमार्फत बिक्री हुनेछ। यसकाे बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेकाे छ ।
त्यस्तै, एभरेष्ट बैंकले ‘६ वर्षे ६.२५ प्रतिशत एभरेष्ट बैंक डिबेन्चर २०८८’ जारी गरी ३ अर्ब रुपैयाँ जुटाउने प्रस्ताव गरेको छ। ३० लाख इकाइमध्ये १२ लाख सर्वसाधारण र १८ लाख निजी प्लेसमेन्टका लागि छुट्याइएको छ। यसकाे बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेकाे छ ।
त्यस्तैगरी, सिटिजन्स बैंकले ‘१० वर्षे ७.५ प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९१’ मार्फत ३ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। यसकाे बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेकाे छ ।
साथै, राष्ट्रिय वाणिज्य बैंकले ‘७ वर्षे ६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९’ जारी गरी ३ अर्ब रुपैयाँ जुटाउने प्रस्ताव गरेको छ। ३० लाख इकाइमध्ये १२ लाख सर्वसाधारण र १८ लाख निजी प्लेसमेन्टका लागि छुट्याइएको छ। बैंकको आवेदन हाल जवाफ प्राप्त भई पुनरावलोकन प्रक्रियामा रहेको छ। यसकाे बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेकाे छ ।
प्रकाशित मिति : August 3, 2026 at 12:45 pm



