१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

एमालेमा थापा कि थपलिया भन्ने विवाद अन्त्य, मुख्यमन्त्रीमा जगन्नाथ

१६ साउन, काठमाडाैँ । बागमती प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले) ले लिने सहमति भएसँगै मुख्यमन्त्री पदका लागि एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले दाबी पेस गर्ने भएका छन्।

सत्ता साझेदारीसम्बन्धी नेकपा र एमालेबीच भएको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएपछि पार्टीभित्र मुख्यमन्त्री को बन्ने भन्ने विषयमा केही दिनदेखि आन्तरिक प्रतिस्पर्धा देखिएको थियो। प्रदेश सांसद किरण थापा र दलका नेता थपलियाले मुख्यमन्त्री पदमा दाबी गरेका थिए । कार्यकर्ताले थापा कि थपलिया भन्नेमा जुहारी नै चलाएका थिए । नेतृत्वले थापाको नाममा बुहमत जुटाउन कोशिश गरेको पनि थियो तर यस विषयमा नेतृत्व नै असफल भएको छ ।

आन्तरिक छलफल र शीर्ष नेतृत्वको हस्तक्षेपले केही पार लगाउन नसक्ने भएपछि पार्टीले अन्ततः थपलियालाई नै मुख्यमन्त्रीका रूपमा अघि सार्ने सहमति सार्वजनिक गरको छ  । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको घरबेटी भनेर चर्चामा रहेका सचिव महेश बस्नेतनिकट मानिएका किरण थापालाई मुख्यमन्त्री बनाउन प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने तयारीसमेत भएको चर्चा चलेको थियो।

विवाद बढ्न थालेपछि अध्यक्ष ओली, सचिव बस्नेत, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेललगायत नेताको उपस्थितिमा भएको बैठकले दलका नेता जगन्नाथ थपलियालाई नै मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थपलियाका सम्धी समेत रहेका एमाले बागमती प्रदेशका उपाध्यक्ष दावा दोर्जे तामाङले जानकारी दिए।

उनका अनुसार थपलिया हिजो पनि संसदीय दलका नेता थिए र अहिले पनि सोही जिम्मेवारीमा छन् । दलको नेताका लागि पुनः निर्वाचन नहुने र बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित उनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने तयारी भइरहेको तामाङले बताए।

चितवन निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य रहेका थपलिया यसअघि नै एमाले बागमती प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए । पार्टीभित्र सहमति जुटेसँगै अब एमालेले बहुमत सदस्यको हस्ताक्षरसहित थपलियालाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : August 1, 2026 at 12:56 pm