१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

सेबोनले पहिलोपटक सार्वजनिक गर्यो परामर्शपत्र, मार्जिन कारोबार र सर्ट सेलिङबारे माग्यो सुझाव

१५ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा नयाँ धितोपत्र वित्तीय सेवा सञ्चालनको तयारीस्वरूप पहिलोपटक परामर्शपत्र ‘कन्सल्टेशन पेपर’ सार्वजनिक गरेको छ ।बोर्डले मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र कभर्ड सर्ट सेलिङ लागू गर्न बजारको तयारी तथा सरोकारवालाको राय–सुझाव संकलन गर्न परामर्शपत्र सार्वजनिक गरेको हो

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभजस्ता वित्तीय उपकरण चरणबद्धरूपमा सुरु गर्ने घोषणा गरेसँगै बोर्डले त्यसलाई कार्यान्वयनतर्फ अघि बढाउन परामर्श प्रक्रिया थालेको हो।

बोर्डका अनुसार यी सेवाको कार्यान्वयनले नेपालको पुँजीबजारलाई थप गहिरो, प्रतिस्पर्धी, पारदर्शी र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउन सहयोग पुग्नेछ। साथै, बजारमा तरलता बढ्ने, संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता विस्तार हुने र निजी क्षेत्रको दीर्घकालीन पुँजी परिचालनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

dainiki.com

चार अध्यायमा विभाजन गरिएको अवधारणापत्रमा नेपालको पूँजी बजारको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नियामकीय प्रभाव विश्लेषण तथा नेपालका लागि उपयुक्त मार्जिन लेन्डिङ, धितोपत्र सापटी र आवरणयुक्त सर्ट सेलिङ मोडलबारे सिफारिस गरिएको छ। साथै, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङ, धितोपत्र दलाल, बैंक तथा वित्तीय संस्था र संस्थागत लगानीकर्ताको भूमिका पनि स्पष्ट गरिएको छ ।

बोर्डले अवधारणापत्रमाथि प्राप्त सुझावका आधारमा मार्जिन लेन्डिङ नियमावली, धितोपत्र उधारो तथा सापटी नियमावली तथा आवरणयुक्त सर्ट सेलिङ नियमावली तयार गरी सार्वजनिक गर्ने जनाएको छ। इच्छुक सरोकारवालालाई [email protected] मा सुझाव पठाउन बोर्डले आग्रह गरेको छ।

प्रकाशित मिति : July 31, 2026 at 3:42 pm