सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
१५ साउन, काठमाडौं । सुप्रिम वाइन नेपालले प्रस्तावित साधारण सेयर (आईपीओ) निष्काशनका लागि नेशनल क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बिहीबार काठमाडौंको पानीपोखरीस्थित नेशनल क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच दुवै संस्थाका प्रतिनिधिहरूले निष्काशन सम्झौतामा औपचारिक हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा सुप्रिम वाइन नेपालका तर्फबाट अध्यक्ष रञ्जिता मानन्धर, प्रबन्ध निर्देशक नरेश अमात्य र कार्यकारी निर्देशक गोकर्ण कार्की लगायत उच्च नेतृत्वको उपस्थिति थियो । यस्तै, नेशनल क्यापिटलका तर्फबाट पनि वरिष्ठ पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
वि.सं. २०७२ (सन् २०१५) मा स्थापना भएको सुप्रिम वाइन नेपालले ‘अकिरा’ र ‘सब मरिन’ जस्ता प्रिमियम तथा फ्रुट वाइन ब्रान्डमार्फत नेपाली बजारमा आफ्नो बलियो पहिचान बनाएको छ । बुढानीलकण्ठ-३ मा मुख्य कार्यालय रहेको यस कम्पनीको नेतृत्व मदिरा, पेय पदार्थ र एफएमसीजी क्षेत्रमा दशकौँको अनुभव बोकेको टोलीले गरिरहेको छ ।

कम्पनीले आईपीओमार्फत संकलन गरिने रकम उत्पादन क्षमता अभिवृद्धि, ब्रान्ड विस्तार र आफ्नो दीर्घकालीन लक्ष्य हासिल गर्न उपयोग गर्ने योजना बनाएको छ । साथै, कम्पनीले निकट भविष्यमा कृषि पर्यटन क्षेत्रमा समेत लगानी विस्तार गर्ने लक्ष्य राखेको छ, जसले व्यावसायिक विविधीकरण र दिगो विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
नेपालको मदिरा उद्योग वार्षिक २०–२५ प्रतिशतले वृद्धि भइरहेको भए तापनि कुल बजारमा वाइनको हिस्सा हाल करिब १ प्रतिशत मात्र रहेको छ । उपभोक्ताको फेरिँदो रुचि र प्रिमियम स्वदेशी उत्पादनप्रतिको बढ्दो आकर्षणले यस क्षेत्रमा ठूलो व्यावसायिक अवसर रहेको कम्पनीको बुझाइ छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी नेशनल क्यापिटलले यस आईपीओ प्रक्रियाको पूर्ण व्यवस्थापन गर्नेछ । संस्थागत सुशासन र पारदर्शितालाई प्राथमिकता दिँदै आएको नेशनल क्यापिटलले सुप्रिम वाइनलाई पूँजी बजारमार्फत वित्तीय स्रोत परिचालन गर्न व्यावसायिक मार्गदर्शन प्रदान गर्नेछ ।
प्रकाशित मिति : July 31, 2026 at 10:36 am



