८६ प्रतिशतले बढ्यो सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?
१५ साउन, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८ करोड ८ लाख २० हजार रुपैयाँको तुलनामा करिब ८६.१९ प्रतिशतको वृद्धि हो।
बैंकको खुद ब्याज आम्दानी भने अघिल्लो वर्षको २३ करोड ४५ लाख रुपैयाँको तुलनामा घटेर २३ करोड ३४ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै, बैंकको सञ्चालन नाफा १० करोड ६८ लाख रुपैयाँबाट उल्लेख्य बढेर २४ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

बैंकको निष्क्रिय कर्जा अनुपातमा सुधार आएको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्म १०.६५ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा घटेर ६.१५ प्रतिशतमा झरेको छ। यस्तै बैंकको वितरणयोग्य मुनाफा ५५ करोड ८८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।
बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष बढेर ४४ करोड ८० लाख १० हजार ८४७ रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको कुल निक्षेप ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९.६९ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ८६.७१ रुपैयाँ र तरलता अनुपात ३९.४१ प्रतिशत रहेकाे छ ।
प्रकाशित मिति : July 31, 2026 at 10:11 am



