१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

 प्रत्येक नागरिकको जीउधन जोगाउनु राज्यको सर्वोच्च दायित्व : प्रधानमन्त्री बालेन

१४ साउन, काठमाडौँ । काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण तथा समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व भएको बताएका छन्।

देशका मधेशकेन्द्रित जिल्लामा पछिल्ला दिनमा विकसित घटनाक्रमका सन्दर्भमा बिहीबार राति फेसबुक पेज मार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्। उनले आगामी दिनमा पनि राज्य थप सतर्क, जिम्मेवार र प्रभावकारी रूपमा परिचालित हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री शाहका अनुसार परिस्थिति सामान्य बनाउन केन्द्रमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ । साथै स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको उनले जानकारी दिए ।

समाजमा शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री तथा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचार–प्रसार नगर्न आग्रह गरे ।

प्रधानमन्त्री शाहले सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनामा मात्र विश्वास गर्न देशवासीलाई अनुरोध गर्दै नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राज्य आफ्नो दायित्वप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : July 30, 2026 at 9:05 pm