१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पुनर्नियुक्ति रद्द भएका स्वावलम्बनका सीईओ विष्टलाई नहटाउन सर्वोच्चको आदेश

१२ साउन, काठमाडौं । सर्वोच्च अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह विष्टलाई पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले आइतबार यस्तो आदेश दिएको हो । विष्टले नेपाल राष्ट्र बैंक र स्वावलम्बन लघुवित्तलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले साउन १८ गतेसम्मका लागि उक्त निर्णय यथास्थितिमा राख्न भनेको छ ।

साउन ६ गते बसेको सञ्चालक समितिको ४८८औँ बैठकले असार ३१ गते सम्पन्न ४८७औँ बैठकबाट नरेन्द्र सिंह बिष्टलाई साउन ९ देखि चार वर्षे दोस्रो कार्यकालमा प्रमुख कार्यकारी अधिकृतका रूपमा पुनर्नियुक्ति गर्ने निर्णय तथा सोका आधारमा भएको करार रद्द गर्ने निर्णय गरेको थियो।

dainiki.com

सोही बैठकले बिष्टले आफ्नो वर्तमान कार्यकाल समाप्त हुने साउन ८ गतेसम्म पूर्ववत् रूपमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गर्ने तथा साउन ९ गतेदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म संस्थाका कायममुकायम नायब महाप्रबन्धक चन्द्रमणि चौलागाईंलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको थियो।

 सोही निर्णयका आधारमा संस्थाले विष्टलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएपछि उनी अदालत पुगेका थिए । सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवेदक नरेन्द्र सिंह विष्टको प्रमुख कार्यकारी अधिकृतको पुनर्नियुक्ति तथा सो सम्बन्धी करारनामा रद्द गरिएको सम्बन्धी पत्र हाल कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’

प्रकाशित मिति : July 28, 2026 at 4:52 pm