१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ

१२ साउन, काठमाडौं । अङ्ग्रेजी महिनाको सप्ताहान्तमा नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको पलेँटीमा यसपालि कलाकार मदनकृष्ण श्रेष्ठको गायन सुन्न पाइने भएको छ । आफ्ना छोरा यमन श्रेष्ठका साथ गाउने तयारीमा रहेका मदन कृष्णले आजभन्दा १८ वर्ष पहिले पनि पलेँटीको मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए ।

मदन कृष्णले यसपालिको कार्यक्रममा आफ्ना पुराना लोकप्रिय गीतका साथै नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन् । उनले गाएका ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’, ‘सयथरी बाजा’ लगायत अनेकौँ गीतहरूले लोकप्रियताको शिखर चुमेका छन् ।

विशेषगरी हास्यव्यङ्ग्य कलाकारिताबाट आफ्ना सहयात्री हरिवंश आचार्यकासाथ स्थापित बनेका मदन कृष्णको प्रारम्भिक कलाकारिता गायनबाटै सुरु भएको हो । प्रारम्भिक चरणमा उनले रेडियो नेपालका साथै भारतको अल इन्डिया रेडियो र दूरदर्शनमा समेत आफ्ना गीति सिर्जनाहरू प्रस्तुत गरेका थिए ।

पछिल्लो चरणमा स्वास्थ्यमा प्रतिकूलता रहँदारहँदै पनि उनी फिल्मी जगतका साथै सांगीतिक जगतमा समेत उत्तिकै सक्रिय रहेका छन् । मदन कृष्णले केही समय अघि रेकर्ड गरेको गीत ‘बिर्सिँदे भन्छौ मायालु’, ‘पहाड भो मलाई’ शीर्षकका गीतहरू पनि श्रोता, दर्शकले उत्तिकै रुचाएका गीतहरूमा पर्दछन् ।

यसपालिको थप आकर्षण गायक यमन श्रेष्ठको रहनेछ । उनी आफ्ना अभिभावक मदन कृष्णकै पथप्रदर्शनमा अघि बढिरहेका कलाकार हुन् । यमन हास्यव्यङ्ग्यात्मक अभिनयका साथै गायन र संगीतमा पनि लागिपरेका कलाकार हुन् । उनी व्यङ्ग्यात्मक शैलीका गीतका साथै गम्भीर प्रकृतिका गीत पनि गाउन रुचाउँछन् ।

यमनले गाएका गीतहरूमा ‘यो मन बदल्न चाहन्न’, ‘जिन्दगीमा सायद मैले’, ‘नौलो बस्ती देखे जहाँ’, ‘मान्छेले किन मान्छेलाई मार्छ’ लगायत अनेकौँ गीतहरू रहेका छन् । यमन आफूले गाउने गीतहरूका अधिकांश शब्दहरूमा आफै धुन भर्ने गर्दछन् ।

पलेँटी टिमसँग अभ्यासरत मदनकृष्ण विगतको सम्झना गर्दै भन्छन्- ‘१८ वर्ष पहिले पनि पलेँटीमा गीत गाएको थिएँ । खुब रमाइलो लागेको थियो । यसपालि त छोरालाई पनि साथमा लिएर आएको छु । झन् रमाइलो हुनेछ भन्ने आशा छ । श्रोता, दर्शकले त सधैँ नै मन पराइरहनु भएकै छ । यसपाली झन् मन पराउनु हुनेछ भन्नेमा ढुक्क छु ।’

आफ्ना बाको प्रतिक्रिया सुनेर मुस्काइरहेका छोरा यमनको प्रतिक्रिया थियो – ‘पलेँटीको रिहर्सल त यति रमाइलो छ; कार्यक्रम त झन रमाइलो हुन्छ नै हुन्छ ।’ सधैँ हाँस्न रुचाउने उनी हाँस्दै प्रतिक्रिया व्यक्त गर्छन् ।

पलेँटी कार्यक्रम यही जुलाई महिनाको ३१ तारिख शुक्रबार र अगस्ट महिनाको १ तारिख शनिबारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने यस कार्यक्रमलाई घरमै बसेर हेर्न सकिन्छ । अनलाइनमार्फत लाइभ हेर्न सकिने यो कार्यक्रमलाई पलेँटीको वेबसाइटमा गएर लिङ्क बुक गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : July 28, 2026 at 12:53 pm