राष्ट्र बैंकको कारबाहीमा तीन बैंक तथा वित्तीय संस्था, सीईओ र सञ्चालकलाई सचेतदेखि जरिवानासम्म
११ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले तीन वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियम मिच्ने दुई विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्स छन्। केन्द्रीय बैंकले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई सचेत गराइएको छ।
बैंकलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा तोकिएको एकल ग्राहक कर्जा सीमासम्बन्धी व्यवस्था उल्लंघन गरी कर्जा प्रवाह गरेको देखिएपछि रेग्मीलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकले २०८२ असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणको क्रममा संस्थाको भल्टमा रहेको नगदमा भएको अपचलन तथा ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच भएको देखिएकोले संस्थाको आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिएको साथै यस प्रकारका घटनाहरु जानकारीमा आएपछि समेत विस्तृत छानबिन गरी दोषीउपर कारबाही नगरेको तथा सो घटना सम्बन्धमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली÷आन्तरिक जाँचमा भएको कमजोरी यकिन गरी संस्थाको नीति तथा कार्यविधिमा आवश्यक संशोधन गरी पर्याप्त सुधार गर्न नसकेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएकाे छ ।
साथै, रिलायन्स फाइनान्स लिमिटेडलाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै जरिवाना गरिएको छ। राष्ट्र बैंकका अनुसार २०८२ फागुन १० गतेदेखि २०८३ वैशाख ५ गतेसम्मको अवधिमा तोकिएको अनिवार्य नगद मौज्दात कायम नगरेका कारण विद्यमान व्यवस्था अनुसार २ हजार ९२४ रुपैयाँ ४८ पैसा जरिवाना लगाइएको राष्ट्र बैंकले जनाएकाे छ ।
प्रकाशित मिति : July 27, 2026 at 5:36 pm



