दुर्गा प्रसाई र दीपक भट्ट बिनानै मिले केपी र प्रचण्ड
९ साउन, काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाई र विचौलिया दीपक भट्ट बिना नै एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेका छन । यसअघि कहिले भट्ट त कहिले दुर्गा प्रसाईले मिलाइदिने गरेका दुई नेता भट्ट विभिन्न वित्तीय अपराधको मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेको समयमा पुनः एक भएका हुन ।
दुई नेताले आफ्नो मिलनका लागि राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र पार्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच तीन बुँदे सहमति भन्ने नाम दिएका छन ।

दुई पार्टीबीच प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ ।
मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने सहमति जुटेको संयोजक दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन ।

प्रकाशित मिति : July 25, 2026 at 9:45 pm



