५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

आरएसडिसी लघुवित्तको नाफा ३५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

५ साउन, काठमाडाैं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.७६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १० करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा संस्थाको खुद सञ्चालन नाफा २५ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको २० करोड २० लाख ४४ हजार रुपैयाँभन्दा बढी हो। यो अवधिमा खुद ब्याज आम्दानी भने २२ करोड ३६ लाख रुपैयाँबाट घटेर १९ करोड १५ लाख ४२ हजार रुपैयाँमा सीमित बनेको छ ।

dainiki.com

गत आर्थिक वर्षको असार मसान्तसम्म लघुवित्तको कुल वितरणयोग्य नाफा ११ करोड ४१ लाख छ भने लाभांश क्षमता १०.९७ प्रतिशत पुगेको छ । संस्थाको निष्क्रिय कर्जा कुल कर्जाको ३.९२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ३.३४ प्रतिशतभन्दा केही बढी हो।

आरएसडीसी लघुवित्तको चुक्तापूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २० करोड ७१ लाख रुपैयाँ र सञ्चित मुनाफा ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ। संस्थाको प्रतिसेयर आम्दानी १३.३७ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १३१.०७ रुपैयाँ कायम हुँदा मूल्य आम्दानी अनुपात ४८.६१ गुणा रहेकाे छ ।

प्रकाशित मिति : July 21, 2026 at 10:18 am