५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड जारी तथा स्वीकार सेवा

४ साउन, काठमाडाैं । कामना सेवा विकास बैंकले नेपालपे कार्ड जारी तथा स्वीकार गर्ने सेवा सुरु गरेको छ। डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्नुका साथै आफ्ना एटीएममार्फत नेपालपे र डिस्कभर नेटवर्कका कार्ड स्वीकार गर्ने व्यवस्था मिलाएको हो।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले राष्ट्रिय भुक्तानी स्विचअन्तर्गत सञ्चालन गरेको नेपालपे कार्ड नेपालको राष्ट्रिय कार्ड प्रणाली हो। यो कार्ड नेपालभित्रका एटीएम तथा पोस मेसिनमा प्रयोग गर्न सकिनेछ। अन्तर्राष्ट्रिय डिस्कभर नेटवर्कसँगको सहकार्यका कारण नेपालपे कार्ड विश्वका विभिन्न देशमा समेत प्रयोग गर्न सकिने एनसीएचएलले जनाएको छ।

नेपालपे प्रणालीले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकलाई कार्ड जारी तथा स्वीकार गर्ने सुविधा दिन्छ। यस प्रणालीमार्फत डिस्कभर र रुपे नेटवर्कका अन्तर्राष्ट्रिय कार्ड पनि नेपालका एटीएम तथा पोस मेसिनमा स्वीकार गर्न सकिनेछ।

हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे कार्ड प्रणालीमा आबद्ध भइसकेका छन्। तीमध्ये सात संस्थाले कार्ड जारी गर्न सुरु गरेका छन् भने १० संस्थाले कार्ड स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याइसकेका छन्।

राष्ट्रियस्तरको विकास बैंकका रूपमा सञ्चालनमा रहेको कामना सेवा विकास बैंकले करिब आठ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकका देशभर १२२ शाखा, एउटा विस्तारित काउन्टर र ६६ एटीएम सञ्चालनमा छन्।

पछिल्लो समय डिजिटल रूपान्तरण र प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको बैंकले नेपालपे कार्ड सेवाबाट ग्राहकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड कारोबार थप सहज हुने विश्वास लिएको छ।

प्रकाशित मिति : July 20, 2026 at 12:56 pm