विद्युतीय सवारी खरिदमा मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने
३२ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायातका रूपमा सञ्चालन हुने ठूला यात्रुवाहक विद्युतीय सवारी खरिदमा बैंक तथा वित्तीय संस्थाले मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था गरेको छ।
बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै राष्ट्र बैंकले सार्वजनिक यातायातका रूपमा सञ्चालन हुने ठूला विद्युतीय सवारी साधनका लागि ऋण–मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) अधिकतम ८० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरेको हो।
यसअघि अधिकांश सवारी साधनमा लागू हुँदै आएको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सवारीको मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र कर्जा दिन पाउँथे। संशोधित व्यवस्थाले सार्वजनिक विद्युतीय यातायातका लागि भने थप २० प्रतिशत बिन्दुको सुविधा उपलब्ध गराएको छ।

राष्ट्र बैंकका अनुसार सबै प्रयोजनका विद्युतीय सवारी साधन तथा निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधन खरिदमा भने ऋण–मूल्य अनुपात अधिकतम ६० प्रतिशत नै कायम रहनेछ।
तर, सार्वजनिक यातायातका रूपमा सञ्चालन हुने ठूला यात्रुवाहक विद्युतीय बस तथा अन्य ठूला ईभी खरिदका लागि बैंकहरूले सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेछन्। यसअनुसार व्यवसायीले अब सवारीको मूल्यको करिब २० प्रतिशत मात्रै आफ्नै लगानी (डाउन पेमेन्ट) गरे पुग्नेछ भने बाँकी रकम बैंकबाट कर्जाका रूपमा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : July 16, 2026 at 11:20 am





