सेयर धितो कर्जामा राष्ट्र बैंकको लचकता, सबल कम्पनीको सेयरमा ८० प्रतिशत कर्जा पाइने
३२ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा संशोधन र परिमार्जन गरेको हो जसअनुसार सेयर कर्जामा महत्त्वपूर्ण हेरफेर गरेको हो ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कम्पनीको सबलताका आधारमा थप कर्जा दिन सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सेयर धितो कर्जाको व्यवस्थामा लचकता अपनाउँदै वित्तीय रूपमा सबल सूचीकृत कम्पनीहरूको सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले अब ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको हाे।
कम्पनीको वित्तीय अवस्था र विश्वसनीयताका आधारमा थप १० प्रतिशत बिन्दुसम्म कर्जा दिन सकिने व्यवस्था गरेको हो। यससँगै राम्रो वित्तीय आधार भएका कम्पनीहरूको सेयर धितोमा लगानीकर्ताले पहिलेभन्दा बढी कर्जा पाउने भएका छन्।

यसअघि नेप्सेमा प्रकाशित पछिल्लो १८० कार्यदिनको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको अधिकतम ७० प्रतिशतसम्म मात्र सेयर धितो कर्जा दिन पाइने व्यवस्था थियो। संशोधित व्यवस्थाले यो आधारभूत सीमा कायम राख्दै थप सुविधा दिएको हो।
नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नै ‘प्रोडक्ट पेपर’ तयार गरी सूचीकृत कम्पनीहरूको सबलता मूल्यांकन गर्नुपर्नेछ। उक्त मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने कम्पनीको सेयर धितोमा साविकको ७० प्रतिशत सीमामा थप १० प्रतिशत बिन्दु जोडेर अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिनेछ।


प्रकाशित मिति : July 16, 2026 at 10:59 am





