३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

रास्वपा सचेतक परियारको प्रश्नः दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?

३० असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहमाथि हुने कुनै पनि प्रकारको अवरोध र त्रासको वातावरण स्वीकार्य नहुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक परियारले यस्ताे बताएका हुन् । उनले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

परियारले आफू एउटा सांसद र आमसञ्चारको विद्यार्थीका रूपमा मात्र नभई नेपालको संविधानको प्रस्तावनामै सुनिश्चित गरिएको पूर्ण प्रेस स्वतन्त्रताको पहरेदार र वकालतकर्ताका रूपमा सदनमा उभिएको उल्लेख गर्दै सञ्चारमाध्यमको मुख्य प्रवेशद्वारमा गाडी पार्किङ गरी आवतजावत ठप्प पार्ने प्रयासको भर्त्सना गरे ।

उनले सत्यसँग डराउनेहरूले मात्र यस्ता गतिविधि गर्ने भन्दै सत्यलाई ढाकछोप गर्न खोज्नु ‘हत्केलाले सूर्य छेक्न खोज्नु’ जस्तै भएको बताउँदै हिजो निरङ्कुश शाही कालमा, तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्ने गरेको स्मरण गरे । ‘त्यतिबेला नझुकेको नेपाली सञ्चारमाध्यम, आज सडकमा दुई–चार वटा गाडी तेर्स्याएर तर्सिन्छ र ?’ परियारको प्रश्न छ ।

प्रकाशित मिति : July 14, 2026 at 2:53 pm