एडिलेडमा ‘एसके फेस्ट २०२६’ हुने, चर्चित ब्यान्डहरू अल्बाट्रस, द एज ब्यान्ड र र्यापर लाउरे आउँदै
एडिलेड — एडिलेड सहरमा नेपाली सङ्गीत साङ्गीतिक उत्सव ‘एसके फेस्ट २०२६’ (SK FEST Adelaide, 2026) आयोजना हुने भएको छ।
२५ नोभेम्बर बुधबार, स्थानिय हिन्डले स्ट्रिट म्युजिक हल, एडिलेडमा `एसके इभेन्ट एन्ड इन्टरटेनमेन्ट’ को आयोजनामा यो वृहत् कन्सर्ट हुन लागेको हो।
नेपाली रक तथा हिपहप सङ्गीतका क्षेत्रमा राज गरिरहेका शीर्ष कलाकारहरूको संयुक्त उपस्थितिले यस वर्षको संगीत महोत्सवलाई ऐतिहासिक हुने एस के ईभेन्टका निर्देशक कमल थापा मगरको दाबी रहेको छ ।
चर्चित कलाकारहरूको महासङ्गम
यस पटकको ‘एसके फेस्ट’ मा दर्शकहरूलाई नेपाली सङ्गीतको भरपुर ऊर्जा दिन तीन ठुला प्रख्यात सङ्गीतिक नामहरू एकै मञ्चमा प्रस्तुत हुँदैछन्:
अल्बाट्रस (Albatross): नेपाली रक सङ्गीत प्रेमीहरूको मुटुमा बस्न सफल सामाजिक र क्रान्तिकारी धारका गीतहरूका लागि चर्चित ब्यान्ड अल्बाट्रस पुनः एडिलेडमा आफ्नो कडा प्रस्तुति दिन आउँदैछ। दुई दशकभन्दा बढी समयदेखि नेपाली रक दृश्यलाई उचाइमा पुर्याएको यस ब्यान्डका गीतहरूमा युवापुस्ताको आक्रोश, सामाजिक यथार्थ र गहिरो भावना समेटिएका हुन्छन्। जसका चर्चित गीतहरू: ‘निश्चल‘, ‘तिमी भागेर‘, ‘भोली र कति‘, ‘मनोकांक्षा‘ र ‘खिइइसकेको जुत्ता‘। रहेकाखछन् ।
द एज ब्यान्ड (The Edge Band): नेपाली पप-रक विधामा अनगिन्ती सदाबहार रोमान्टिक र डार्क मेलोडी गीतहरू पस्किएको ‘द एज ब्यान्ड’ यस महोत्सवको दोस्रो ठुलो आकर्षणको रूपमा थपिएको छ। मुख्य गायक जीवन गुरुङको जादुमयी र मर्मस्पर्शी स्वरका कारण यो ब्यान्ड हरेक पुस्ताका नेपाली संगीतप्रेमीहरूको प्रिय बन्न सफल छ। जसका चर्चित गीतहरू: ‘मेरो आँसु‘, ‘थाहा छैन‘, ‘नचाहेको होइन तिमीलाई‘, ‘तिम्रो याद‘ र ‘लास्ट किस‘ रहेका छन् ।
लाउरे (Laure): नेपालका चर्चित एवं बहुप्रतिभावशाली हिपहप र्यापर ‘लाउरे’ (आशिष राना) पनि आफ्नो चर्चित प्रस्तुति लिएर एडिलेडका दर्शकहरूलाई नचाउन यो लाइनअपमा जोडिएका छन्। ‘रअ बार्ज’ (Raw Barz) बाट चर्चामा आएका लाउरे आफ्ना सशक्त शब्द, कथावाचन शैली र दमदार स्टेज प्रस्तुतिका लागि प्रख्यात छन् । जसका चर्चित गीतहरू: ‘केस नं. ४२०‘, ‘नेफहोपको बाटो‘, ‘हामी यस्तै त हो नि ब्रो‘, ‘बिरानो‘ र ‘सुपरहिट‘ रहेका छन् ।
कार्यक्रम १८ वर्षभन्दा माथिका (18+) उमेर समूहका लागि मात्र लक्षित गरिएको छ। महोत्सवका लागि अहिले धमाधम टिकट बुकिङ खुला भइसकेको छ। दर्शकहरूले पोस्टरमा उपलब्ध क्युआर कोड (QR Code) स्क्यान गरेर सिधै आफ्नो डिजिटल टिकट सुरक्षित गर्न सक्नेछन्। यस कन्सर्टको टिकट खरिदका लागि ‘आफ्टरपे’ (Afterpay) को विकल्प समेत उपलब्ध गराइएको छ।
एडिलेड र आसपासका क्षेत्रमा रहेका नेपाली युवा पुस्तामाझ यस कन्सर्टलाई लिएर अहिलेदेखि नै निकै ठुलो उत्साह र उत्सुकता बढेको छ।
प्रकाशित मिति : July 11, 2026 at 9:56 am





