प्रधानमन्त्री बालेनको झन्डै २०० तोला सुनको स्रोत के हो, छानबिन होस्ः नेता आङ्देम्बे
२२ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति छानबिनको सुरूआत प्रधानमन्त्री बालेन शाह र आफूबाट गर्न चुनौती दिएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् ।
भ्रष्टाचार गर्ने जुनसुकै दलको होस्, जुनसुकै पदमा रहेको होस् कानुनको दायरामा आउनुपर्ने उनले बताए । प्रधानमन्त्री बालेन लगायत सत्तापक्षका नेताले ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण भएन भनिरहेको उनले स्मरण गरे ।
‘प्रधानमन्त्रीजीको सम्पतिमा झण्डै दुई सय तोला सुन देखियो । अन्य मन्त्रिपरिषद्का सदस्यहरूको त्यस्तै धेरै देखियो । उहाँहरुको सम्पति विवरण सार्वजनिक भएको छ, यसकाे छानबिन होस्।’ उनले भने । उनले आफ्नो पार्टीले सकारात्मक कामको प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने स्पष्ट पारेका छन् ।
सांसद आङ्देम्बेले भने“ सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय देखिएको छ । सकारात्मक काम जहाँ भएका छन्, त्यसको प्रशंसा गर्न कांग्रेस कन्जुस्याइँ गर्दैन । किनभने सरकार सफल हुँदा अन्ततः सफल हुने भनेको नेपाली जनता हुन् । नेपाल देश हो ।”
उनले लोकतन्त्रमा सरकारको मूल्याङ्कन नागरिकको अनुभवबाट हुने टिप्पणी गर्दै सरकारको मूल्याङ्कन संविधानको सम्मानबाट संसद्प्रतिको उत्तरदायित्वबाट र सार्वजनिक संस्थाको विश्वसनीयताबाट हुने बताए । उनले भने,“लोकतन्त्रमा प्रश्न गर्नु विरोध होइन, उत्तरदायित्व हो । राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्छ । लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि र संविधानको औचित्यपूर्ण संशोधनका लागि सरकारलाई सहयोग गर्दछ । यदि सरकारले राष्ट्रिय सहमतिका लागि हात बढाउँछ भने कांग्रेस सधैँ सकारात्मक भूमिका खेल्न तयार छ । हामी सरकार सफल होस् भन्ने चाहन्छौँ, किनभने सरकार सफल हुँदा सफल हुने नेपाली जनता हुन् । नेपाली जनताको जीवनमा परिवर्तन आउने हुन् ।”

नेता आङ्देम्बले सुकुम्बासी समस्याको दिगो समाधानका लागि आग्रह गरे । साथै उनले संविधान निर्माणमा संसद्का सबै दल, संसद् बाहिरका पार्टीदेखि विभिन्न दल, संवैधानिक कानुनका विज्ञलगायतबीच संवाद गर्नुपर्ने सुझाव दिए। सर्वपक्षीय रूपमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
उनले एउटै हात्तीको आक्रमणबाट २५ जनाको ज्यान गएको र एउटै परिवारका चारजनाले ज्यान गुमाउनुपरेको पीडादायी अवस्थामा सरकारले हात्ती नियन्त्रण गर्न प्रभावकारी योजना ल्याउनुपर्नेमा जोड दिए । “यस्तो अवस्थामा राहत बाँडेर मात्र दायित्व पूरा हुँदैन । जङ्गली जनावरबाट नागरिकको जीवन र खेतीपातीको सुरक्षा गर्ने दीर्घकालीन नीति, प्रभावकारी उद्धार संयन्त्र र शीघ्र हस्तक्षेपको व्यवस्था तत्काल लागू गरियोस्” उनले माग गरे ।
प्रकाशित मिति : July 6, 2026 at 3:21 pm





