अधिक तरलता व्यवस्थापन गर्न आज २० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
२२ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ जारी गर्ने भएको हो।
यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। यसको बोलकबोल आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट हुनेछ । बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो एकवर्षे अवधिको ऋणपत्र हो।

यस ऋणपत्रमा प्राप्त हुने प्रस्तावअनुसार ब्याजदर निर्धारण गरिने व्यवस्था गरिएको छ। न्यूनतम रु. ५ करोडदेखि माथि कुनै पनि रकममा बोलकबोल गर्न सकिनेछ।ऋणपत्रको ब्याजदर प्रतिस्पर्धात्मक रूपमा निर्धारण गरिनेछ भने ब्याज भुक्तानी ६/६ महिनामा गरिने र सावाँ रकम परिपक्वतामा एकमुष्ट फिर्ता गरिने व्यवस्था रहेको छ। बोलकबोलमा प्राप्त प्रस्तावहरू मध्ये कट–अफ ब्याजदर निर्धारण गरी सोही दरमा स्वीकृत गरिने र बढी माग भएको अवस्थामा समानुपातिक आधारमा बाँडफाँड गरिने बैंकले जनाएको छ।
प्रकाशित मिति : July 6, 2026 at 10:29 am





