सात विश्वविद्यालयमा एकै पटक उपकुलपति नियुक्ति
१९ असार, काठमाडौँ । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सात विश्वविद्यालयमा एकै पटक कुलपतिको नियुक्ति गरेका छन । उनले शुक्रबार सात वटै विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेका हुन । खुला प्रतिस्पर्धाको कुरा गरिए पनि अन्तिम समयमा रास्वपा भित्रको आन्तरिक शक्तिसन्तुलन ध्यान दिएर उपकुलपति नियुक्त गरिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले उपकुलपतिको नियुक्ति गरेको पत्र लिन शिक्षा मन्त्रालयमा ६ बजे नै उपकुलपतिमा नियुक्त भएकाहरूलाई बोलाइएको भए पनि अन्तिम समयमा केही हेरफेर भएकाले पत्र हस्तान्तरणमा समय लागेको छ । अहिले उपकुलपतिको नियुक्ति पत्र लिन उपकुलपतिहरूको लाम शिक्षा मन्त्रालयमा रहेको छ । सहकुलपति समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले उपकुलपतिहरूलाई पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । अहिलेसम्म नाम सार्वजनिक नगरिए पनि त्रिभुवन विश्वविद्यालयमा भोला थापाले बाजी मारेको बुझिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति नियुक्त भएका छन ।
(यसअघि सात विश्वविद्यालय हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।-सम्पादक)
प्रकाशित मिति : July 3, 2026 at 6:33 pm





