१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित

१८ असार, जनकपुरधाम । दलहरूबीच सहमति हुन नसक्दा मधेस प्रदेशसभाको बैठक अन्यौलमा परेको छ । बुधबार दिउँसो १ः०० बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी दलको अवरोधका कारण बसेको केहीबेरमै स्थगित भएको थियो ।

प्रदेश सरकारले प्रदेशसभामा यही असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विद्येयकमा व्यापक त्रुटी रहेकाले संशोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्षीदल जनता समाजवादी पार्टी (जसपा), नेपाल र जनमत पार्टीले बैठक अवरुद्ध गरेको हो ।

अवरुद्ध बैठक सञ्चालन गर्न सभामुख रामअशिष यादवको पहलमा सत्तापक्षी र प्रतिपक्षीय दलका नेताहरूबीच बुधबारदेखि छलफल भइरहेपनि सहमति जुट्न नसक्दा बैठक अन्यौलमा परेको हो । बैठकलाई नियमित रूपमा सञ्चालन गर्ने विषयमा छलफल जारी रहेको र सहमति भएपछि बैठक सञ्चालन हुने प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए ।

dainiki.com

बुधबार बसेको बैठकको सुरुमा प्रतिपक्षी दुवै दलका प्रदेशसभा सदस्यहरूले सरकार आफ्नै नीति तथा कार्यक्रममार्फत घोषणा गरेको विषयलाई बेवास्ता गर्दै साना र टुक्रे योजनामा बजेट विनियोजन गरेको तथा बजेटमा प्रतिपक्षमाथि विभेद् गरिएकाले त्यसलाई संशोधन नगरेसम्म बैठक सञ्चालन हुने नदिने अडान लिएपछि सभामुख यादवले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : July 2, 2026 at 3:59 pm