कुराले चिउरा भिज्नेवाला छैन, कम्युनिस्टले आत्मसमीक्षा गरौंः माधव नेपाल
१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
झण्डै दुई तिहाइ शक्ति नजिक पुगेको कम्युनिस्ट पार्टी के कारणले कमजोर भयो भनेर आत्ममूल्यांकन गर्न सक्नुपर्ने बेला आएको भन्दै नेपालले हामीमा के–के विकृति र विसङ्गति आए भनेर आत्मसमिक्षा गर्नुपर्ने बताए।

उनले भने, ‘हामीले विगतको विसङ्गतिको आत्मसमीक्षा गर्नुपर्छ । यो एउटा पार्टीको निम्ति मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन्, ती सबैले आ-आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ ।’
उनले मदन भण्डारीले भनेजस्तै कुरा गरेर मात्रै चिउरा नभिज्ने बताए । ‘कमरेड मदन भण्डारी भन्नुहुन्थ्यो कुराले चिउरा भिज्नेवाला छैन । त्यसकारण कुरा मात्रै गरेर हुनेवाला केही पनि छैन । त्यस हुनाले चिउरा भिजाउनका लागि कि त दही नै चाहिन्छ कि त दूध नै चाहिन्छ । ’
प्रकाशित मिति : June 28, 2026 at 4:14 pm









