शिक्षा र स्वास्थ्य करले भूइँमान्छेलाई असर गर्दैनः अर्थमन्त्री वाग्ले
१४ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्कले भुइँ मान्छेलाई असर नगर्ने बताएका छन् । प्रतिनिसिभाको आजको बैठकमा ‘आर्थिक विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन हुने कर तल्लो तहका नागरिक लाभान्वित हुने बताए ।
उनले निजी विद्यालयका लागि समता शुल्कका रूपमा तीन प्रतिशत कर सङ्कलन सीमान्तकृत समुदायका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चितता र सार्वजनिक शिक्षाको उन्नयनको लक्ष्य लिइएको स्पष्ट गरे।

मन्त्री वाग्ले वार्षिक रु १० लाखसम्मको आम्दानीमा कर छुट गरिएको, पुँजीगत खर्च बढाउने सोच लिइएको र खर्च गर्ने क्षमता बढाएर आर्थिक क्षेत्रमा रूपान्तरण गरिने बताए । करको दायरामा सबैलाई ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्दै उनले बजेटमा भएका व्यवस्थालाई पूरा गर्ने दृढता व्यक्त गरे ।
मन्त्री वाग्लेले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि मुद्रा सटहीमा लिइने तीन प्रतिशत शुल्क उचित नै भएको बताउँदै तोकिएका करहरू तिर्नुपर्ने बताए । उनले उद्योगी, व्यवसायीलाई निर्धक्क भएर लगानी र व्यवसाय गर्ने वातावरणका लागि सरकारले आवश्यक सहजीकरण गर्ने पनि बताए ।
प्रकाशित मिति : June 28, 2026 at 2:07 pm









