१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

कारागारका कैदी ठग्ने कांग्रेस नेता अभिषेक गिरी पक्राउ

१३ असार, काठमाडाैँ । मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूबाट रकम असुली र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरी पक्राउ परेका छन्। प्रहरीले शनिबार बिहान विराटनगर-८, मधुमारास्थित उनकै निवासबाट गिरीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको घर र घरअगाडि पार्किङ गरी राखिएका दुईवटा कारको खानतलासी गरेको थियो। खानतलासीका क्रममा शंकास्पद वस्तु नभेटिए पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने दैनिक भत्ता, लुगा भत्ता र उनीहरूको श्रमबाट आर्जित रकमसमेत असुली गर्ने गरेको आरोप छ। मोरङ कारागारमा रहेका १ हजार १ सय ९९ कैदीबन्दीको भत्ता, मुडा र गलैँचा बुनेर हुने आम्दानी समेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा हडप्ने गरेको गुनासो प्रहरीमा पुगेको थियो।

हाल प्रहरीले गिरी र कारागारका चौकीदारबीचको आर्थिक लेनदेन, बैंकिङ कारोबार र अन्य प्रमाणहरू केलाइरहेको छ। मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई कैद भुक्तान गरिसकेका गिरी कारागारबाट छुटेपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए।

प्रकाशित मिति : June 27, 2026 at 11:58 am