१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

लागुऔषधको ओसारपसार र दुरुपयोग न्यूनीकरण गर्न सबै संरचना परिचालन गर्छौंः गृहमन्त्री गुरूङ

१२ असार, काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले लागुऔषधलाई सामाजिक चुनौतीका पमा लिँदै सरकारले ‘लागुऔषधको अन्त्यको सुरुआत गर्ने अभियान’ सञ्चालन गर्ने नीति लिएको बताएका छन् ।
अन्तरराष्ट्रिय लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उनले लागुऔषधको ओसारपसार र दुरुपयोगसम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताए । “अन्तर-निकाय समन्वय बढाइनेछ र कानुनी सुधारका काम निरन्तर हुनेछन्”, गृहमन्त्रीले भने ।

dainiki.com

लागुऔषधको ओसारपसार र दुरुपयोग केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जनस्वास्थ्यलाई कमजोर बनाउने एक जटिल तथा सीमा वारपार हुने सङ्गठित अपराध पनि भएकाले यसको न्यूनीकरणका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्ने गृहमन्त्री गुरुले बताए ।

लागुऔषध दुर्व्यसनीमुक्त समाज बनाउन मन्त्रालयले यसको रोकथाम, नियन्त्रण र दुर्व्यसनीमा फसेकालाई उपचार गरी समाजमा पुनःस्थापना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको गृहमन्त्रीले बताएका छन् । “यो सामाजिक चुनौतीको समाधान सरकारको एक्लो प्रयासले मात्र सम्भव छैन । तसर्थ, स्थानीय समुदायले अगुवाइ गर्न र युवापुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउन नागरिक समाज र सञ्चारमाध्यमलाई सामाजिक साझेदारीका लागि समेत पुनः आह्वान गर्दछु”, उनले सन्देशमा भनेका छन् ।

प्रकाशित मिति : June 26, 2026 at 3:21 pm