समृद्धिसँग मर्जरपछि राष्ट्र बैंकले फुकुवा गर्याे पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारबाही
१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरिएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ। राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेपछि कारबाही हटाइएको जनाएको हो।
राष्ट्र बैंकका अनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण, समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको गैरस्थलगत विवरणको सुपरिवेक्षकीय समायोजनपछि संस्थाको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा निकै कम देखिएको थियो।
त्यसपछि २०८१ माघ २३ गते बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम संस्थामाथि शीघ्र सुधारात्मक कारबाही लागू गरिएको थियो।

राष्ट्र बैंकका अनुसार पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच एकआपसमा गाभ्ने/गाभिने प्रस्तावलाई समितिले २०८३ वैशाख १७ गते अन्तिम स्वीकृति दिएको थियो।मर्जरपछि २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा संयुक्त संस्थाको प्राथमिक पुँजी ६.०६ प्रतिशत तथा कुल पुँजीकोष अनुपात १०.८० प्रतिशत पुग्ने देखिएको छ।
यसले नियामकीय आवश्यकताअनुसारको वित्तीय अवस्था हासिल गर्ने आधार देखिएकाले समितिको २०८३ असार १० गतेको निर्णयअनुसार समृद्धि फाइनान्ससँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागू हुने गरी पोखरा फाइनान्समाथि लगाइएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरिएको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति : June 26, 2026 at 2:06 pm









