११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

अब मौखिक अनुरोधमै खाता रोक्का हुने, बैंकहरूले २४ घण्टै सेवा दिनुपर्ने

११ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा महत्वपूर्ण संशोधन गर्दै बैंक खाता रोक्का तथा फुकुवा अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमा गर्न सक्ने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्था अनुसार अबदेखि कुनै पनि कसुरको अनुसन्धान गर्ने निकाय वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिक वा लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाताहरू अल्पकालीन अवधिका लागि तत्काल रोक्का राख्नुपर्नेछ।

यस आकस्मिक प्रक्रियालाई व्यवस्थित गर्न केन्द्रीय बैंकले बैंकहरूलाई २४ सै घण्टा (२४/७) कार्य गर्ने गरी आवश्यक जनशक्ति परिचालन गर्न र आफ्नो वेबसाइटमा खाता रोक्का सम्बन्धी कामका लागि एउटा छुट्टै ‘डेडिकेटेड कन्ट्याक्ट नम्बर’ राख्न निर्देशन दिएको छ। यसअघि नै खाता रोक्का प्रक्रियालाई डिजिटल बनाइसकेको राष्ट्र बैंकले डिजिटल ठगीका घटनामा पीडितको रकम तुरुन्तै सुरक्षित गर्न र लिखित पत्र पर्खिँदा हुने ढिलाइलाई अन्त्य गर्न मौखिक निर्देशनकै भरमा पनि तत्काल खाता रोक्का हुने यो नयाँ व्यवस्था लागू गरेको हो।

dainiki.com

यसअघि बैंकहरूले खाता रोक्का वा फुकुवाका लागि चिठीपत्र वा फ्याक्सको भर पर्नुपर्ने व्यवस्था अन्त्य भइसकेको थियो । यसअघिनै राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले खाता रोक्का तथा फुकुवा सम्बन्धी सूचना वा निर्देशन राष्ट्र बैंकको आधिकारिक वेबसाइट (http://acstatus.nrb.org.np) मार्फत प्राप्त गर्नेसक्ने व्यवस्था गरेको थियो । बैंकहरूलाई उपलब्ध गराइएको युजर आईडी र पासवर्ड प्रयोग गरी सोही वेबसाइटमा आएको निर्देशनलाई मात्र आधिकारिक मानी तत्काल कार्यान्वयन गर्नुपर्ने र यसरी खाता रोक्का वा फुकुवा गरिसकेपछि सोको जानकारी अनिवार्य रूपमा ‘सुपरभाइजरी इन्फर्मेसन सिस्टम’ मार्फत राष्ट्र बैंकलाई गराउनुपर्ने व्यवस्था थियो।

वित्तीय अपराध नियन्त्रणका लागि बैंकहरू २४ सै घण्टा खटिनुपर्ने भएको छ भने अनुसन्धान प्रक्रियालाई अझ तीव्र बनाउन अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनकै भरमा पनि बैंक खाता तत्काल रोक्का गर्नुपर्ने नयाँ व्यवस्था गरिएको हो।

प्रकाशित मिति : June 25, 2026 at 11:58 am