सुशासन र समृद्धिको योजनामा हामी सँगै छौँः नेता पुन
७ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सुशासन र समृद्धिको योजनामा आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी एकैठाउँमा रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन समारोहलाई आज चितवनमा सम्बोधन गर्दै उनले रास्वपा र नेपाली कम्युनिस्ट पार्टीबीच पृष्ठभूमि र काम गर्ने शैली फरक भए पनि सुशासन र समाज रूपान्तरणको एजेन्डामा धेरै समानता रहेको बताए ।
नेता पुनले नेपाली समाजको रूपान्तरणको यात्रा सहज नभएको र ठूलो बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य पेस गरे । थिति बसाउने राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डामा आफूहरुको साथ रहने उल्लेख गर्दै उनले भने, “हामी सुशासनको पक्षमा छौँ र विगतमा हामीले सहकार्य पनि गरेका छौँ । अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबीच धेरै विषयमा सहकार्य भएको छ ।”

उनले थिति बसाउने नाममा चालिने कदमहरू सधैँ विधिसम्मत र संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिए । नेता पुनले नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको भए पनि पद्धतिभन्दा बाहिर जान नहुने तर्क गरे ।
नेता पुनले राजनीतिमा सङ्ख्या प्राप्त गर्दा विनम्रता देखाउनुपर्ने धारणा राखे । नयाँ पुस्ताको सहभागिताले नेपाली राजनीतिमा सकारात्मक उत्साह भरेको उनको कथन थियो । मुलुकले रास्वपाको यो महाधिवेशनबाट कस्तो नेतृत्व, विचार र कार्यदिशा तय गर्ला भनेर नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले महाधिवेशनको सफलताको कामना व्यक्त गरे ।
प्रकाशित मिति : June 21, 2026 at 5:50 pm







