७ असार २०८३, आइतबार | Sun Jun 21 2026

रास्वपा महाधिवेशन आजबाट : सभापतिमा उम्मेदवार हुन ५१ हजार र ५१ समर्थक चाहिने

७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवार दर्तासम्बन्धी सूचना सार्वजनिक गरेको छ। महाधिवेशन आजबाट चितवनमा हुँदैछ ।

निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार पार्टी सभापति पदका लागि उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ। उक्त पदमा उम्मेदवारी दिन एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्नेछन् । त्यसैगरी पार्टी पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय सदस्य पदका उम्मेदवारले २१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस पदका लागि पनि एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने जनाइएको छ । प्रस्तावक र समर्थक बन्ने पार्टी सदस्यहरूको नाम प्रतिनिधि नामावली सूचीमा समावेश भएको हुनुपर्ने आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ताका लागि भरिएको मनोनयन पत्र, शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, अनुशासन कारबाही नभएको स्वघोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि तथा पासपोर्ट साइजका दुई प्रति फोटो अनिवार्य रूपमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ । रामलक्ष्मण रिमालले भोटिङ मेसिनको सम्पूर्ण व्यवस्था मिलाइसकेका छन ।

पहिलो चरणको मतदान गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ । केसीका अनुसार निर्वाचित भएका सदस्यहरुबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ ।

केसीले यही असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताउनुभयो । असार ८ गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गरिने छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुने छ ।

तीन हजारको हाराहारी प्रतिनिधि हुने अनुमान रहेको छ । प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाएको छ । विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरुले एपमार्फत मतदान गर्ने छन् ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र १० जना सदस्य रहेका छन् । निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भएपनि मतदान गर्न पाउने व्यवस्था छ । प्रमुख केसीले आफूहरुले मतदान नगरी तटस्थ निर्वाचन गराउने बताएका छन ।

प्रकाशित मिति : June 21, 2026 at 6:48 am