धितोपत्र बोर्डको अध्यक्षमा राष्ट्र बैंकका पूर्व कर्मचारी गोपाल भट्ट
५ असार, काठमाडाैं। नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा कैलालीका भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी हुन ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले समितिले गरेको सिफारिसका आधारमा डा. भट्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए । भट्टले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधी गरेका छन ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. संयम आचार्य संयोजक रहेको समितिले भट्टसहित तीन जनाको नाम एक महिनाअघि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। पूर्वसचिव भुवन दाहाल र अर्थसचिव डा. धनश्याम उपाध्याय समितिको सदस्य रहेका थिए ।
बोर्डको अध्यक्षका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने न्यूनतम योग्यता तोकिएको थियो । अन्य योग्यतामा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको भ्रष्टाचारजन्य, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागु औषध कारोबार लगायतका फौजदारी कसुर पाएको हुन नहुने रहेको थियो ।
को हुन भट्ट ?
नेपाल राष्ट्र बैंकमा करिब तीन दशक सेवा गरेका वरिष्ठ अर्थशास्त्री तथा केन्द्रीय बैंकिङ विज्ञ डा. गोपालप्रसाद भट्ट नेपालको वित्तीय तथा आर्थिक नीति निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वका रूपमा परिचित छन्।
२०२६ अप्रिलसम्म नेपाल एसबीआई बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक रहेका डा. भट्टले नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) को जिम्मेवारी सम्हाल्दै विभिन्न महत्वपूर्ण विभागको नेतृत्व गरेका थिए । उनले अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, वित्तीय व्यवस्थापन विभाग, मानव स्रोत व्यवस्थापन विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, काठमाडौं बैंकिङ कार्यालय तथा जनकपुर क्षेत्रीय कार्यालयमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
वित्त व्यवस्थापन विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेका डा. भट्टले सन् २००९ मा त्रिभुवन विश्वविद्यालयबाट ‘स्टक मार्केट इफिसियन्सी इन नेपाल’ विषयमा अनुसन्धान गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए तथा बीबीए अध्ययन पूरा गरेका छन् ।

नेपाल राष्ट्र बैंकमा रहँदा उनले मौद्रिक नीति निर्माण, आर्थिक अनुसन्धान, मुद्रास्फीति मापनका लागि उपभोक्ता मूल्य सूचकांक (सीपीआई) विकास, सार्वजनिक ऋण व्यवस्थापन रणनीति तथा वित्तीय क्षेत्र सुधारका क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण, खुला बजार कारोबार (ओएमओ) उपकरणको प्रयोग तथा तरलता व्यवस्थापनमा समेत उनको महत्वपूर्ण भूमिका रहेको उल्लेख छ।
डा. भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न परियोजनामा विज्ञ तथा परामर्शदाताका रूपमा काम गरेका छन्। उनी अर्थ मन्त्रालयअन्तर्गत एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित पूँजी बजार तथा पूर्वाधार विकास परियोजनाका सदस्य, नेपाल राष्ट्र बैंकको वित्तीय क्षेत्र सुधार कार्यक्रमका कार्यदल सदस्य, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका परामर्शदाता तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विज्ञ सदस्यसमेत रहिसकेका छन्।
शैक्षिक क्षेत्रमा पनि सक्रिय डा. भट्टसँग २५ वर्षभन्दा बढी अध्यापन अनुभव छ। उनले त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पस, नेपाल कमर्स क्याम्पस, एपेक्स कलेज, प्रेसिडेन्सियल बिजनेस स्कुल, द ब्रिटिस कलेज, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट तथा किङ्स कलेजलगायत संस्थामा अध्यापन गरेका छन्। उनले वित्तीय डेरिभेटिभ, लगानी विश्लेषण, मौद्रिक नीति, केन्द्रीय बैंकिङ, कर्पोरेट फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थापन तथा जोखिम व्यवस्थापनजस्ता विषय अध्यापन गरेका छन्।
उनका ‘स्टक रिटर्न्स एन्ड जीडीपी इन नेपाल’ तथा ‘अप्टिमम ग्रोथ–म्याक्सिमाइजिङ पब्लिक डेब्ट थ्रेसहोल्ड फर नेपाल’ लगायतका अनुसन्धानात्मक लेख विभिन्न जर्नलमा प्रकाशित छन्।
डा. भट्टले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, न्यूयोर्क फेडरल रिजर्भ बैंक, सियासेन सेन्टर तथा जोइन्ट भियना इन्स्टिच्युटलगायत संस्थाले आयोजना गरेका उच्चस्तरीय तालिममा सहभागिता जनाइसकेका छन्। अमेरिका, स्विट्जरल्याण्ड, अस्ट्रिया, सिंगापुर, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया, भियतनाम, टर्की, फिलिपिन्स, हङकङ र भारतलगायत मुलुकमा उनले व्यावसायिक भ्रमण तथा प्रशिक्षण प्राप्त गरेका छन्।
हाल उनी सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय छन्। उनी नेपाल पीएचडी एसोसिएसन र नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य हुनुका साथै समार्थगुरु धाराका प्रमुख आचार्यका रूपमा समेत संलग्न छन्।
प्रकाशित मिति : June 19, 2026 at 6:10 pm









