वक्तृत्वकलामा प्रथम किस्पाङ प्रतिभा बनिन राधिका
५ असार, नुवाकोट । किस्पाङ बहुप्राविधिक शिक्षालयमा सामान्य चिकित्सा अध्ययनरत छात्रा राधिका रैला वक्तृत्वकलामा प्रथम किस्पाङ प्रतिभा बनेकी छिन । बिहीबार किस्पाङ गाउँपालिकाले वडा नम्बर ३ को ऐँसेलुभुमे माविमा आयोजना गरेको ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’अन्तर्गत वक्तृत्वकलामा प्रथम स्थान हाँसिल गर्दै राधिका प्रथम किस्पाङ प्रतिभा बनेकी हुन ।

वक्तृत्वकलामा ज्ञानज्योति माध्यमिक विद्यालयका पूजा तामाङ द्वितीय र ऐँसेलु भूमे माध्यमिक विद्यालयका लक्ष्मी विक तृतीय भएकी छिन् । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु १० हजार, रु आठ हजार र रु छ हजार पुरस्कार प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले जानकारी दिए ।

वक्तृत्वकला मार्फत प्रतिभाको खोजी गर्न किस्पाङ गाउँपालिकाले ‘सङ्घीयतामा स्थानीय सरकार’ शीर्षक दिएर प्रतियोगिता आयोजना गरेको थियो । गाउँपालिकाले ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’अन्तर्गत वक्तृत्वकला, चित्रकला र नृत्यकलामा प्रतियोगिता नै गरेर प्रतिभाको छनोट गरेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयका आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता जनाएका थिए ।

त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका पूर्वप्रमुख प्राडा सोमप्रसाद खतिवडा नेतृत्वको निर्णायक समितिले वक्तृत्वकला प्रतियोगितामा उत्कृष्टको छनौट गरेको थियो । समितिमा प्रकाश सिलवाल र माधवप्रसाद तिवारी सदस्य रहेका थिए । कुल तीन सय पूर्णाङ्कमा राधिकाले २३३ अंक प्राप्त गरेकी थिइन भने पूजाले २३० र लक्ष्मीले २२४ अंक प्राप्त गरेकी थिइन ।

पुरस्कृत प्रतिभालाई गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत खतिवडालगायतले पुरस्कार प्रदान गरे । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सरोज अधिकारीले ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’ लाई आगामी वर्षमा पनि निरन्तरता दिने जानकारी दिए ।


प्रकाशित मिति : June 19, 2026 at 2:23 pm







