२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

आन्तरिक विवादभन्दा राष्ट्रिय मुद्दामा ध्यान दिऔंः प्रदीप ज्ञवाली

२ असार , काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले र कांग्रेस आन्तरिक समस्याबाट माथि उठेर राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन् । लोकतान्त्रिक पार्टीहरूभित्र नीति, निर्णय, सङ्गठन, शैली र नेतृत्वका बारेमा मतान्तर देखिनु अस्वाभाविक नभएको उनको भनाइ छ ।

‘एमाले र कांग्रेस जस्ता पार्टीहरू यतिबेला केही आन्तरिक समस्याहरूसँग जुझिरहेका छन् । लोकतान्त्रिक पार्टीहरूभित्र नीति, निर्णय, सङ्गठन, शैली र नेतृत्वका बारेमा मतान्तर या विमतिहरू देखिनु अस्वाभाविक होइन’ उनले भनेका छन्, ‘यी समस्याको समाधानका आफ्नै विधिहरू छन् । आशा छ, समस्याहरू विधिसम्मत ढङ्गले समाधान हुनेछन् र पार्टीहरूको आन्तरिक एकता थप सुदृढ हुनेछ । तर, आन्तरिक विषयहरूको सामना गरिरहेको बेला हाम्रो ध्यान मुख्य राष्ट्रिय मुद्दाहरूमा केन्द्रित हुनैपर्छ ।’
उनले नेपाल गम्भीर भूराजनीतिक भुँवरीतिर धकेलिँदै गइरहेको बताए।

उनले सीमा क्षेत्रमा चिया निर्यात रोकिँदा हजारौं श्रमिक र उद्यमी प्रभावित भएका र सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरू अझै अस्थायी अवस्थामै रहेको बताएका छन् । उनले भने, ‘सीमामा चिया निकासी रोकिँदा हजारौँ श्रमिक र सयौँ उद्यमीहरू सङ्कटमा पर्नुभएको छ । दुई महिना अगाडि बर्बरतापूर्वक लखेटिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू होल्डिङ सेन्टरहरूमा बेवारिसे जस्तै हुनुभएको छ । ’

dainiki.com

त्यसैगरी, धान रोपाइँको समयमा मल अभाव, बढ्दो महँगी र समग्र आर्थिक दबाबले जनजीवन प्रभावित भइरहेको उनले टिप्पणी गरेका छन्। यी सबै कुरामा बेखबर भएर प्रधानमन्त्री ‘जिस्किँदै’ बसेको टिप्पणी गरे।

उनले भने, ‘तर यी सबै कुरामा बेखबर हाम्रा बिन्दास प्रधानमन्त्री ‘जिस्किँदै’ हुनुहुन्छ र उहाँको ‘देश बनाउने टोली’ व्यवसायीहरूका खुट्टा भाँच्ने धम्की दिँदैछ । गरिखानेहरूको ट्याम्पो भीरबाट गुडाइदिएर ठुलै शत्रुमाथि ‘सर गरेको’ आत्मरतिमा रमाइरहेको छ ।’

राष्ट्रपति संस्थाको अपमान, संसद्को अवमूल्यन, मतदाताहरूप्रति उपेक्षा, आफ्नै पार्टीप्रति वेवास्ता, लोकतान्त्रिक अधिकारहरूको सङ्कुचन, संवैधानिक अङ्गहरूमाथि हस्तक्षेप, राजनीतिक प्रतिशोध, राष्ट्रसेवकहरूको हुर्मतले मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिँदै गएको उनको बताए ।

‘आफ्ना आन्तरिक विषयमा बहस गरिरहेको बेला यी राष्ट्रिय मुद्दाहरू र यिनीहरूप्रतिको हाम्रो दायित्व ओझेलमा नपरोस् भनेर ध्यान दिनैपर्छ’ ज्ञवालीले भनेका छन्, ‘जनतालाई हाम्रा आन्तरिक एजेण्डामा भन्दा माथिका मुद्दामा बढी चासो छ ।’

dainiki.com

प्रकाशित मिति : June 16, 2026 at 4:55 pm